असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी हेक्टरको खेतीमा क्षति
कात्तिक ११, सिन्धुली/गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशमा ठूलो जनधनको क्षति ग¥यो । वर्षापछि आएको बाढीबाट सिन्धुलीले पनि ठूलो क्षति बेहोर्नुप¥यो । विभिन्न भौतिक संरचनासँगै पाक्नै लागेको धान, तरकारी, फलफूललगायतका बालीसमेत बाढीले बगाएपछि यहाँका कृषक मारमा परेका छन् ।
जिल्लामा बाढीले क्षति पु¥याएका खेतीयोग्य जमिन र बालीको यकीन तथ्यांक आइसकेको छैन । यद्यपि, प्रारम्भिक तथ्यांकअनुसार जिल्लामा साढे ८०० भन्दा बढी हेक्टर खेतीयोग्य जमिनमा लगाइएको बाली नष्ट भएको पाइएको छ ।
कृषि विकास कार्यालय सिन्धुलीका अनुसार बाढीले ८५७ हेक्टर जमिनमा लगाइएको खाद्यान्न र तरकारीबालीमा क्षति पु¥याएको छ । यसैगरी १३ रोपनीमा लगाइएको फलफूल तथा अदुवा बाली पनि बाढीबाट नष्ट हुन पुगेको तथ्यांक कार्यालयले उपलब्ध गराएको छ ।
कार्यालयले बाढीप्रभावित स्थानीय तहहरुबाट विवरण संकलन गरी क्षतिको प्रारम्भिक तथ्यांक तयार पारेको हो ।
‘अविरल वर्षापछिको बाढीले सिन्धुलीमा ८५४ हेक्टरमा लगाइएको धान, ३.८० हेक्टरमा लगाइएको तरकारी, १२ रोपनीमा लगाइएको फलफूल, एक रोपनीमा लगाइएको अदुवा खेतीमा क्षति भएको तथ्यांक प्राप्त भएको छ,’ कार्यालय प्रमुख अरुणकुमार खनालले भन्नुभयो, ‘२२ वटा टनेलमासमेत क्षति पुगेको पाइएको छ ।’
कुन पालिकामा कति क्षति ?
कार्यालयका अनुसार जिल्लाको सुनकोशी गाउँपालिकामा सबैभन्दा बढी खाद्यान्नबालीमा क्षति भएको छ । सुनकोशीमा ५१३ हेक्टरमा लगाइएको धानबाली र चार वटा टनेलमा क्षति भएको कार्यालय प्रमुख खनालले जानकारी दिनुभयो ।
हरिहरपुरगढी गाउँपालिकामा २४५ हेक्टरमा लगाइएको धानबाली, एक हेक्टरमा लगाइएको तरकारी र चार वटा टनेलमा बाढीले क्षति पु¥याएको छ ।
फिक्कल गाउँपालिकामा ३५ हेक्टरमा लगाइएको धानबाली, १२ रोपनीमा लगाइएको केराखेती, चार रोपनीमा लगाइएको आँप र १४ वटा टनेलमा क्षति भएको कार्यालयले जनाएको छ ।यसैगरी घ्याङलेख गाउँपालिकामा एक हेक्टरमा लगाइएको धानबाली, एक रोपनीमा लगाएको अदुवा खेती नष्ट भएको पाइएको छ । कमलामाई नगरपालिकामा १८ हेक्टर क्षेत्रमा लगाइएको धानबाली बाढीले बगाएको छ ।
गोलञ्जोर गाउँपालिकामा ४० हेक्टरमा लगाइएको धानबाली, एक हेक्टरमा लगाइएको तरकारी, तीन हेक्टरमा लगाइएको फलफूलखेतीमा क्षति पुगेको कार्यालयको तथ्यांक छ । तीनपाटन गाउँपालिकामा तीन हेक्टरमा लगाइएको धानबाली बाढीले नष्ट बनाएको तथ्यांकमा देखिन्छ ।
भित्र्याउने तयारीमा रहेको धानसहितका खेती बाढीले नष्ट गर्दा कृषकले ठूलो क्षति बेहोर्नुपरेको छ । जसकारण उचित क्षतिपूर्तिको पर्खामा कृषक रहेका छन् । कतिपय खेतीयोग्य जमिनसमेत बाढीका कारण पुनः खेती गर्नयोग्य नरहेका कारण किसान थप चिन्तामा परेका छन् ।