• भदौ २९, सिन्धुली बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ शनिवार सिन्धुलीमा ६० औँ राष्ट्रिय बाल दिवस मनाईएको छ । दिवसको अवसरमा सरोकारवालाहरुबिच बालबालिका सम्बन्धी जिल्लामा भएका गतिविधि, उपलब्धि र योजनाको विषयमा अन्तरक्रिया गरिएको हो ।

    प्लान इन्टरनेश्नलको सहयोग, जिल्ला समन्वय समिति सिन्धुलीको समन्वय र जनजाति समाज विकास कार्यक्रम सिन्धुलीको आयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना थियो ।

    जनजाति समाज विकास कार्यक्रम सिन्धुलीका कार्यक्रम संयोजक राजेन्द्र लामाले जिल्लामा बालबालिकाको क्षेत्रमा भएका गतिविधिहरूलाई प्रभावकारी बनाउन, बालबालिकाका क्षेत्रमा भावी योजना निर्माण गर्न यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । जिल्लामा बालबालिकाका क्षेत्रमा काम गर्ने सङ्घ, संस्था तथा सरोकारवाला निकायहरूबिच समन्वय हुन आवश्यक रहेको बताउनुभयो ।

    अन्तरक्रिया कार्यक्रममा उठेका विषयवस्तु समेटिएर कार्य योजना निर्माण गरिएको लामाले जानकारी दिनुभयो । उहाँका अनुसार जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण फैलन नदिन जनचेतनामूलक कार्यक्रम गर्ने, जन्म दर्ता लगायतका पञ्जीकरण सम्बन्धी देखिएका समस्याहरूलाई समाधान गर्न वडा सचिवहरूलाई अभिमुखीकरण गर्ने, खोप लगाउन छुटेका बालबालिकाहरू पत्ता लगाई उनहिरुलाई खोप लगाउने वातावरण निर्माण गर्ने, कारागार भित्र रहेका बालबालिका सहितका कैदिबन्दिलाई अलग्गै राख्ने व्यवस्था गर्न माग गर्ने, कारागारमा मनोसामाजिक परामर्श गर्ने, जोखिममा रहेका बालबालिकाको अनुसन्धान, पहिचान, उद्धार र पुनस्थापना गर्ने, लागु औषध दुर्व्यसनीका जोखिम युक्त स्थानहरूको पहिचान गरि प्रहरीले निगरानी बढाउने कार्य योजना निर्माण भएको छ । जनजाति समाज विकास कार्यक्रम सिन्धुलीका उपाध्यक्ष प्रदीप लुंगेलीले सवैको सकारात्मक पहलबाट बालबालिकाको क्षेत्रमा सुधार आउने उहाँले अपेक्षा गर्नुभयो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सुनिल चौरसियाले बालबालिकाको सुरक्षाको लागि जिल्लाका सरकारी र सँस्थागत गरी ८० वटा विद्यालयमा विद्यार्थीहरुलाई प्रहरी शिक्षकद्धारा जागरुकता गराइहेको बताउनुभयो । “हामिले विद्यालयको शिक्षकलाई विशेष तालिम दिएका छौँ । उहाँहरुले आफ्नो विद्यालयमा विद्यार्थीहरुलाई हप्तामा एक पटक अपराधिक क्रियाकलापबाट कसरी बच्ने, गुड टच,ब्याड टच, साइबर क्राइमबाट कसरी बच्ने जस्ता कुराको सचेतना गराउनुहुन्छ । हामि आफै पनि महिनामा एक पटक विद्यालय पुग्छौँ” प्रहरी निरिक्षक चौरसियाले भन्नुभयो ।

    नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ । तर धेरै बालबालिका यस्ता हक र अधिकारबाट वञ्चित रहेको भन्दै जिल्लाका सरोकारवाला निकायहरू जिम्मेवार बन्न आवश्यक रहेको बताउँदै संस्थाले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको प्रमुख आतिथ्ययतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्की, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँल लगायतको उपस्थिती रहेको थियो ।