• भदौ २२, सिन्धुली/गोलन्जोर गाउँपालिकाले सुँडे पुतलीबाट फल जोगाउनका लागि नयाँ योजना बनाएको छ । गाउँपालिकाले सुँडे मोथ पुतलीबाट जुनार, सुन्तलामा हुने क्षति न्यूनीकरणका लागि नयाँ योजना बनाएको हो ।

    बर्सेनि जुनार, सुन्तलाको फलमा सुँडे पुतली प्रकोपको रुपमा देखापर्ने गर्दछ । यो प्रकोप न्यूनीकरण तथा रोकथामका लागि सुँडे पुतली समात्ने र मार्ने योजना बनेको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले सुँडे पुतली समातेर सम्बन्धित वडामा बुझाएमा प्रोत्साहन रकमबापत प्रतिपुतलीको २ रुपैयाँ प्रदान गर्ने उल्लेख गर्दै सार्वजनिक सूचना जारी गरेको गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिनुभयो ।

    “सुँडे पुतली जुनार, सुन्तलाको फलमा बसेर बर्सेनि लाखौँको क्षति पुर्‍याउने गरेको छ । तत्कालका लागि पुतली समात्ने र मार्नेभन्दा अरु उपाय छैन । त्यसैले गाउँपालिकाले पुतली समातेर मार्नेलाई दुई रुपैयाँ नगद प्रोत्साहनस्वरुप प्रदान गर्ने निर्णय गरेको हो,” अध्यक्ष बरालले बताउनुभयो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन एकाइ सिन्धुलीले सुँडे मोथ पुतली रोकथामका लागि वैज्ञानिक तथा कृषकसँग बारम्बार अन्तरक्रिया गदैँ आएको छ । गाउँपालिकाले नियन्त्रणका लागि भदौ २० गते सूचनामार्फत सुँडे मोथ पुतली समातेर मार्ने व्यक्तिलाई नगद प्रदान गर्ने जानकारी गराएको थियो ।

    उक्त पुतली फलमा बसेपछि फलको आकार नबढ्ने, फलको बोक्रामा रस चुसेको ठाउँ खैरो, त्यसको वरिपरि पहेँलो र सुन्तले चक्का देखिने गर्दछ । चुसाहा मोथ-पुतलीले उस्पोरा थरीको ढुसी फलमा सारेर फललाई रोगी बनाउने भएकाले गुदी गल्छन् । यस्ता फलहरु रुखबाट भुइँमा झर्ने गर्दछ ।

    वर्षेभरि नै फलको बगैँचामा सक्रिय रहने भए पनि सुँडे पुतलीको संख्या विशेषगरी असार, साउनदेखि कात्तिक, मंसिर यामसम्म ह्वात्तै बढ्ने स्थानीय कृषकहरुको भनाइ छ । “चुसाहा मोथ-पुतलीहरु रातको समयमा सक्रिय हुने स्वभावका कीरा हुन् । रातभरि नै यी पुतलीहरु फलफूल चहार्दै रस चुसी हिँड्छन् । रातको खास प्रहर, साँझको ७ देखि रातको ११ बजे र बिहानीको ४ देखि ६ बजेको अवधिमा बगैँचामा यस पुतलीले फलफूलको रस चुस्ने क्रिया तीव्र हुन्छ,” परियोजना कार्यन्वयन एकाइ सिन्धुलीले जनाएको छ ।