करकरेका कृषकलाई भुइँकटहर बेच्न भ्याइनभ्याई, महिनामै २ लाख आम्दानी

साउन २२, सिन्धुली/बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-८ करकरेका कृषकहरुलाई यतिबेला भुइँकटहर बेच्न भ्याइनभ्याई छ । आफैंले उत्पादन गरेको भुइँकटहर बेच्न कृषकहरु बिहानदेखि नै राजमार्गमा पुगिसकेका हुन्छन् ।

साउनको पहिलो साताबाट लगभग भदौको पहिलो सातासम्मै करकरेका कृषकहरु भुइँकटहर बिक्री गर्न राजमार्गमा छाप्रो हालेर बस्ने गरेको पाइन्छ । व्यापारीलाई बेच्दा कम मूल्य पाउने भएकाले आफैं राजमार्गमा बेच्न बसेको कृषक अनिता खड्का बताउनुहुन्छ ।

“दिनमा धेरैमा १०० वटा भुइँकटहर बेच्छु । कम्तीमा नि दिनमा १० हजार कमाई हुन्छ । व्यापारीहरु गोटाको ४०-५० रुपैयाँमा माग्न बारीमा आइपुग्छन् । तर यहाँ १ सय रुपैयाँ गोटाले सजिलै बिक्री हुन्छ,” खड्काले भन्नुभयो । राजमार्गमा आवतजावत गर्ने यात्रुहरुले गाडी रोकेर भुइँकटहर किन्ने गर्दछन् ।

ताजा र अर्गानिक भएकोले पनि यात्रुहरुले रुचाउने गरेको उहाँले बताउनुभयो । आफूले १० कट्ठा बारीमा भुइँकटहर रोपेको कृषक खड्काले सुनाउनुभयो । पहिले व्यापारीहरुले घरमै पुगेर थोरै पैसामा किन्ने गरेकोले खासै फाइदा हुँदैनथ्यो । अरुले राजमार्गमा बेचेको देखेर आफू पनि बेच्न बसेको उहाँको भनाइ छ । खड्का तीन वर्षदेखि करकरेमा छाप्रो बनाएर भुइँकटहर बेच्न बस्नुभएको हो ।

अघिल्ला वर्षहरुमा १ महिनामै २ लाख रुपैयाँसम्म आम्दानी भएको उहाँले बताउनुभयो । “पहिलेको वर्षमा महिनाकै २ लाखसम्म आम्दानी भएको थियो । यो वर्ष पनि त्यतिकै हाराहारीमा आम्दानी हुने अनुमान छ । एक महिनाको आम्दानीले घर खर्च र दसैं खर्च टार्दै आएका छौँ,” उहाँले थप्नुभयो ।

आम्दानी राम्रो भएपछि अझै अन्य ठाउँमा पनि भुइँकटहर रोप्ने योजना बनाइरहेको उहाँले बताउनुभयो । खड्कालाइ जस्तै अरु कृषकहरुलाई पनि राजमार्गमै भुइँकटहर बिक्री भएपछि सिन्धुलीमाढी बजार धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अर्का कृषक जानुका मगर पनि बिहानैदेखि भुइँकटहर बेच्न राजमार्ग आइपुग्नुहुन्छ ।

आफ्नै खेतमा उत्पादन गरेको कटहर दिनमा ५०-६० वटासम्म बेचेर घर फर्किने गरेको मगरले सुनाउनुभयो । “हामीले त भर्खरैबाट मात्रै कटहर रोपेर उत्पादन गर्न थालेका हौँ । खासै धेरै आम्दानी हुँदैन । १ महिनामा ३० देखि ४० हजार रुपैयाँमा आम्दानी हुन्छ । घरमा छोराबुहारीलाई केही पैसा दिएर अरु आफैले राख्ने गरेको छु,” उहाँले भन्नुभयो । कृषक मगरले ९ कट्ठा खेतमा भुइँकटहर लगाउनुभएको छ ।

राम्रै आम्दानी भएपछि छोराबुहारीले अझै विस्तार गर्न लागेको उहाँले सुनाउनुभयो । कमलामाई नगरपालिकाले वडा नम्बर ८ करकरेलाई भुइँकटहर पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ । कृषि शाखाले बर्सेनि समूहगत रुपमा कृषकलाई भुइँकटहरको बिरुवा वितरण गर्ने गरेको बताएको छ । तर कृषकहरुले भने यसबारे जानकारी नै नभएको बताएका छन् । नगरपालिकाले वितरण गरेको भनिएको बिरुवा आफूहरुले अहिलेसम्म नपाएको उहाँहरुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *