• पुस २९, सिन्धुली/‘हामी भयौँ बे–घरबार, मिटरब्याजी सुदरखोरलाई सरकार र अदालतले संरक्षण बन्द गर’। यही नारा अंकित ब्यानर बोकेर करिब एक सयजनाको समूह आज जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा भेटियो । यो समूह कुनै राजनीतिक दलका कार्यकर्ताको थिएन । कुनै राजनीतिक माग पनि थिएन, जुन माथिको नाराबाट नै प्रस्ट हुन्छ ।
    उहाँहरु दुधौली नगरपालिका कमलाखोँचका मिटरब्याजी र लघुवित्त संस्थाबाट पीडित हुनुहुन्छ ।

    उहाँहरु न्यायको खोजीमा तीन दिन पैदल हिँडेर जिल्ला सदरमुकाम आइपुग्नुभएको हो । जसको नेतृत्व राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका केन्द्रीय सदस्य विजय थापाले गर्नुभएको थियो । पुस २७ गते कमलाखोँचबाट दबाब पदयात्रा सुरु गरेर यहाँ आइपुग्नुभएका पीडितहरुले आजै प्रमुख जिल्ला अधिकारी भरत खनाललाई ज्ञापनपत्र बुझाउनुभयो ।
    कमलाखोँचका अधिकांश मिटरब्याजीहरुले दनुवार समुदायको घरजग्गा आफ्नो नाममा गरेको पीडितहरुको गुनासो छ । उहाँहरुले तमसुक व्यवस्था खारेज गर्नुपर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनुपर्ने, पीडितविरुद्ध लगाइएका झूठा मुद्दा खारेज गर्नुपर्ने, लघुवित्तलको ज्यादति अन्त्य गर्नुपर्ने, बैंक र वित्तीय संस्थाको अन्यायपूर्ण ब्याजदर हटाउनुपर्नेलगायतका मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।


    पीडितहरुले मिटरब्याजीबाट धेरै ऋण नलिए पनि झुक्याएर घरजग्गा नै आफ्नो नाममा पास गरेको पाइएको महाअभियानका केन्द्रीय सदस्य थापाले बताउनुभयो । “कमलाखोँचका दनुवार समुदायले मिटरब्याजीबाट धेरैमा तीन लाख ऋण लिनुभएको रहेछ । ऋण लिने समयमा उहाँहरुले मिटरब्याजीलाई केही समयपश्चात् फिर्ता गरिदिने मौखिक सहमतिमा आफ्नो घर जग्गा पास गरेर दिनुभएछ । महिना, महिनामा सहमतिअनुसार निश्चित ब्याज तिरिरहनुभएको थियो । ७–८ वर्ष पछाडि घर जग्गा फिर्ता गर्न साँवासहित लिएर जाँदा घर जग्गा नदिएको अधिकांशको गुनासो छ,’ उहाँले भन्नुभयो ।


    जगाडिकी धनसरी अधिकारी दनुवारलाई मिटरब्याजीको ऋणले सुकुम्बासी बनाइदिएको छ । उहाँले २ वर्षअघि कमलामाई नगरपालिका वडा नम्बर १४ चन्दनपुरका विनोद गुप्तासँग ५ लाख रुपैयाँ ऋण लिनुभएको थियो । महिना–महिनामा ब्याज बुझाइरहनुभएको थियो । अहिले उहाँकी बुहारीले घरजग्गा फिर्ता गरिदिनू भन्दै गुप्तालाई साँवा बुझाउँदा ३० लाख रुपैयाँ पैसा दिएमात्रै घरजग्गा फिर्ता गरिदिन्छु भनेर धम्क्याएको धनसरीले गुनासो गर्नुभयो ।


    धनसरी त उदाहरणमात्रै हुनुहुन्छ । त्यहाँका लगभग ३ सयभन्दा बढीले मौखिक रुपमा फिर्ता गरिदिने सहमतिमा आफ्नो घरजग्गा मिटरब्याजीलाई पास गरेर ऋण लिँदा अहिले सुकुम्बासी हुनुपरेको पीडितहरुले सुनाउनुभयो ।
    मिटरब्याजीले दिएको दुःख खेपिरहेका सोही स्थानका स्थानीयलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि थप पीडा दिएको गुनासो छ । शर्मिला घिसिङले ८ वर्षअगाडि दुधौलीस्थित जीवन विकास लघुवित्तबाट ३ लाख रुपैयाँ ऋण लिनुभएको थियो । उहाँले आठ वर्षसम्म मासिक ११ हजार ५ सय रुपैयाँका दरले किस्ता तिर्नुभयो । गत असारमा उहाँको श्रीमानले विदेशबाट लघुवित्तको कार्यालयमै फोन गरेर हिसाब खोज्दा अझै २ लाख १५ हजार ७२० रुपैयाँ तिर्नुपर्ने जवाफ आएपछि किस्ता तिर्न नै बन्द गरेको शर्मिलाले सुनाउनुभयो ।


    आठ वर्षसम्म ३ लाखको तेब्बर तिरेर पनि अझै ऋण तिर्न बाँकी देखाउने लघुवित्तलाई कारबाही गर्नुपर्ने उहाँले माग गर्नुभयो । लघुवित्तले भनेबमोजिमको ऋण नतिरेको भन्दै सो स्थानका कसैको कानको सुन लुछेर लगिएको, घरको जस्ता झिकेर लगेको, बाख्रा वस्तु लगेको पीडितहरुको गुनासो छ । सम्बन्धित निकायले लघुवित्तको ज्यादति बन्द गनुपर्ने माग उहाँहरुले गर्नुभयो ।
    कमलाखोँचका पीडितहरु प्रशासनमा दबाब दिन पहिलोपटक आइपुग्नुभएको हो । सरोकारवाला निकायले बेवास्ता गरे चरणबद्ध रुपमा आन्दोलनको घोषणा गर्ने चेतावनी पीडितहरुले दिनुभएको छ ।