सिन्धुलीबाट वैदेशीक रोजगारमा जानेको सङ्ख्यामा बृद्धि
असार २१, सिन्धुली/सिन्धुली जिल्लामा हाल सम्म ९ हजार ५ सय ९४ जना वैदेशीक रोजगारमा गएका छन् । वैदेशीक रोजगारमा जानेको सङ्ख्या गत आर्थिक बर्षमा ४ हजार ७ सय १७ थियो भने चालु आर्थिक बर्षको हाल सम्म बढेर ९ हजार ५ सय ९४ रहेको सुरक्षित आप्रवासन कार्यक्रम(सामी)को तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सुरक्षित आप्रवासन कार्यक्रम(सामी) परियोजना सिन्धुलीले आज सिन्धुलीमाढीमा पत्रकारहरुसँग अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर तथ्याङ्क सार्बजनिक गरेको हो ।
सामी परियोजना सिन्धुलीका कार्यक्रम अधिकृत भोजराज सुनुवारले नेपालमा रेमिट्यान्स भित्राउन वैदेशिक रोजगारमा जानीहरुको चुनौती, हालको अबस्था, सिन्धुलीमा परामर्श लिनेहरुको अबस्था लगायतको स्थितीबारे स्पष्ट पार्नु भएको थियो ।
कार्यक्रम अधिकृत सुनुवारलले नेपालको ७ वटा प्रदेश मध्ये मधेश प्रदेशबाट सबैभन्दा बढि वैदेशीक रोजगारमा जाने गरेको बताउनुभयो । बागमती प्रदेश पाँचौ स्थानमा रहेको छ भने जिल्लाको जनसङ्ख्याको तुलनामा बागमती प्रदेशको जिल्लाहरु मध्ये सिन्धुली जिल्लाबाट सबैभन्दा बढी विदेशीएको सुनुवारले जानकारी दिनुभयो ।
सामी सिन्धुलीका कार्यक्रम संयोजक के आर विजय दाहालले वैदेशीक रोजगारमा जानेहरुलाई ब्यवस्थीत, सुरक्षित र मर्यादित वातावतरण सिर्जना गर्ने उद्देश्यले सामी परियोजनाको सञ्चालन भएको बताउनु भयो । सिन्धुली जिल्लाबाट वैदेशीक रोजगारमा राहदानी बनाएर जाने मध्य सबैभन्दा बढि ७ हजार ३ सय ४१ जना श्रमका लागि गएका छन् भने १ हजार ६ सय ७४ जना विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न गएका छन् ।
यस्तै सबैभन्दा बढी सिन्धुलीको कमलामाई नगरपालिकाबाट २ हजार ५ सय ५२,दुधौली नगरपालिकाबाट १ हजार ८ सय ८४, तिनपाटन गाउँपालिका बाट १ हजार १ सय ८९, मरिण गाउँपालिकाबाट १ हजार १ सय ५३ जना,हरीहरपुरगढी गाउँपालिकाका बाट ७ सय ४६, घ्याङलेख गाउँपालिकाबाट ५ सय ९६, गोलन्जोर गाउँपालिकाबाट ५ सय ४६,सुनकोशी गाउँपालिकाबाट ५ सय ४० र फिक्कल गाउँपालिकाबाट ३ सय ४९ जना वैदेशिक रोजगारीमा जानको लागि राहदानी लिएको कार्यक्रम संयोजक दाहालले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षमा सामीबाट वैदेशिक रोजगारमा जाने ७२ जनाले मनोसामाजिक परामर्श लिएको दाहालले बताउनु भयो ।
कमलामाई नगरपालिकाका सामी परियोजनाका फोकल पर्सन बविन्द्रलाल माझिले वैदेशीक रोजगारमा जानेहरुलाई सुचनाको पहुँच,सीप तालिमका लागि सहजीकरण,न्यायमा सहजीकरण,मनोसामाजिक पराममर्शको सिफारिस तथा वित्तिय साक्षरता सम्बन्धी जानकारी गराउने आप्रवासी स्रोत केन्द्रको मुख्य काम रहेको बताउनु भयो ।