लम्पि स्किनको चपेटामा किसान, रोपाईं कसरी गर्ने भन्ने चिन्ता थपिँदै
संगिता डिम्दोङ
असार ४, सिन्धुली/असार लागे संगै किसानहरु धान रोपाईंको तयारीमा जुटेका छन् । सिन्धुलीका नौँ वटै स्थानीय तहमा धान रोपाईं हुने भएकाले भौगोलिक अवस्था अनुसार यहाँका किसानहरु रोपाईंको तयारीमा लागेका हुन् ।
समथर क्षेत्रमा ट्याक्टरको प्रयोग गरेर रोपाईं गरिन्छ । यस्तो ठाउँमा असारको पहिलो हप्ताबाटै रोपाईं सुरु हुन्छ । तर पहाडी भूभागमा गोरुले रोपाईं गरिने भएकाले असारको १५ बाट मात्र सुरु गरिन्छ । सिन्धुलीमा थोरै भूभाग मात्र समथर क्षेत्रमा पर्दछ । अन्य सबै पहाडी क्षेत्रमा पर्दछन् । अधिकांस भूभाग पहाडी क्षेत्रमा पर्ने र यहाँ गोरुको प्रयोगले रोपाईं गरिने भएकाले यस वर्ष धान रोपाईं कसरी गर्ने भन्ने चिन्ताले यहाँका किासनहरु चिन्तित छन् । लम्पी स्किनले हालसम्म जिल्लामा ३ सय ९० वटा पशु मरीसकेका छन् भने १९ हजार भन्दा बढि बिरामी रहेको भेटेरीनरी अस्पताल तथा पशु शेवा केन्द्रले जनाएको छ ।
मरिण गाउँपालिका वडा नम्बर ७ देउजोरका मुन्सिराम गोलेको १ बिघाहा जमिनमा धान रोपाईं हुन्छ । रोपाईंको लागि २ महिना अगाडि ८० हजार रुपैँया तिरेर एक हल गोरु किनेर ल्याएको गोलेको भनाई छ । तर लम्पि स्किनले गोरु मर्ने की बाँच्ने स्थितीमा रहेको वहाँको गुनासो छ । “रोपाईं नगरे बर्षभरी खाने अन्न हुँदैन । रोपाईं गर्न किनेर ल्याएको गोरु पनि बिरामी छ । मेरो मात्रै हैन गाउँभरि २० हल भन्दा बढि गोरु बिरामी छन् । अर्मपर्म गर्न पनि छैन । यस्तो अवस्थामा कसरी रोपाईं गर्नेहो थाहा छैन” वहाँले भन्नुभयो । मुन्सिराम त एउटा उदाहरण मात्र हुन् । लम्पि स्किनले थलिएका किसानहरु यहाँ धेरै छन् ।
भौगोलिक अवस्थाका कारण ट्याक्टरले रोपाईं गर्न पनि सम्भव नभएको गोलेको भनाई छ । जोत्न त के कुरा छिमेकीको गोरु मर्न थालेपछि आफ्नो पनि बचाउन नसकिने हो कि भन्ने चिन्ता गोलेलाई लाग्न थालेको छ । पशु प्राविधिकले लम्पि स्किन रोगको प्रभावकारी उपचार नभएकाले रोेग लाग्न नदिनु नै उत्तम उपाय भएको बताएपछि किसानहरु झनै चिन्तामा छन् ।
मानो रोपेर मुरी उब्जाउने समयमा घ्याङलेख गाउँपालिकामा किसानको गोठ नै रित्तिएको सन्तवीरु भोलनले गुनासो गर्नुभयो । लम्पि स्किनले गोरु विरामि हुँदै मर्न थालेको उहाँले बताउनु भयो । पशुलाई कुनै औषधि नै गर्न नपाएपछि छट्पटिदै मर्ने गरेको भोलनको भनाई छ । सिन्धुलीमा १५ हजार ५ सय हेक्टर जमिनमा धान खेती गरिन्छ । तर धान रोप्ने मुख्य सिजनमा पशुहरु धमाधम मर्न थालेपछि यतिवेला किसानहरुको छट्पटी थपिँदै गएको छ । रोग नियन्त्रण गर्न तर्फ स्थानीय तह लगायतका अन्य सरोकारवालाहरुले खासै चासो नदेखाएको किसानहरुको गुनासो छ ।