• जेठ १७, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिका वडा नं. २ स्थित उर्गेन छ्योलिङ गुम्बाको पुनःनिर्माण गरिएको छ । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले बुधबार एक औपचारिक कार्यक्रमकाबीच वडा नं. २ ठकानमा पुनःनिर्माण गरिएको गुम्बाको उद्घाटन गर्नुभएको हो ।
    वि.सं.२०७२ सालको भूकम्पले ढालेको गुम्बाको भवन ८ बर्ष पछि पुन ठडिएको छ । २०४२ सालमा स्थानीयले श्रमदानबाट उक्त गुम्बा निर्माण गरेका थिए । २०७२ सालको महाभूकम्पले गुम्बामा क्षति पुर्याएको थियो । संघिय सरकार र स्थानीय सरकारको लागतमा गुम्बाको पुनःनिर्माण गरिएको बताइएको छ । उर्गेन छ्योलिङ गुम्बा ब्यबस्थापन समितिका अध्यक्ष लाल बहादुर घिसिङिको अध्यक्षता तथा मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गरि गुम्बाको उद्घाटन गरिएको छ।


    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष मोक्तानले अघिल्लो कार्यकालमा गुम्बा निर्माणको लागि पहल गरेर अधुरै रहेकाले प्राथमिकताका साथ निर्माण सम्पन्न गरिएको बताउनु भएको छ ।
    तामाङ जातीहरुको बाहुल्य बसोबास रहेको ठकानमा बर्षो अघि श्रमदानबाट निर्माण गरिएको गुम्बा निर्माणमा ढिलाई भएको भन्ने गुनासो सम्बोधन गरेर निर्माणमा पहल गरिएको मोक्तानको भनाई छ । भौतिक निर्माणले मात्रै बिकास नहुँने बताउनुहुँदै अध्यक्ष मोक्तानले मरिणको सदरमुकामबाट ठकान सम्म जोडीने सडकको उचित ब्यबस्थापन गरिने बताउनुभयो ।
    मरिण गाउँपालिकाले उर्गेन छ्योलिङ गुम्बा निर्माणको लागि २०७४ सालमा २ लाख १० हजार बजेट बिनियोजन गरेको

    ब्यबस्थापन समितीका अध्यक्ष लाल बहादुर घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार संघिय सरकारबाट २०७७ सालमा १० लाख र २०७८ सालमा १० लाख बजेट छ्ट्याएको थियो । मरिण गाउँपालिकाले बुद्धको मुर्ति खरिदको लागि २०७९ सालमा ५ लाख बजेट बिनियोजन गरी कुल २७ लाख १० हजार बजेटमा उर्गैन छ्योलिङ गुम्बाको निर्माण गरिएको अध्यक्ष घिसिङले बताउनु भयो ।


    वडा नम्बर २ का वडा अध्यक्ष कमल बहादुर घिसिङले मरिण गाउँपालिकामा २०७२ सालको भूकम्पले माने,गुम्बाहरुमा क्षति भएको बताउनु भयो । सो गुम्बा निर्माणको लागि अघिल्लो कार्यकालमा पहल भएर पनि सम्पन्न नभएका भौतिक संरचना निर्माणका लागि मरिण गाउँपालिका समक्ष अनुरोध गर्नुभएको छ ।
    उर्गेन छ्योलिङ गुम्बाको भौतिक संरचना निर्माण भएपनि गुम्बाका लामा बस्ने घर र शौचालय नहुँदा समस्या हुने स्थानियको गुनासो छ ।


    २०७२ सालको भूकम्पले जिल्लाभर १ सय भन्दा बढि माने, गुम्बाको आंशिक तथा पूर्णरुपमा क्षति पुर्याएको थियो । धेरैजसो माने, गुम्बाको पुन:निर्माण भएपनि केहिको भने अझै पुनःनिर्माण हुन सकेको छैन ।