प्रेम

– सिर्जना पोखरेल
मन्थली, रामेछाप

तिम्रा ती नसालु नयनहरू
मेरै दिलमा बस्नका लागि बनेका हुनुपर्छ
हावाको मन्द सुसेलीमा
तिम्रै गीत गुन्जिए झैं लाग्छ
हावामा तिम्रै स्पर्श मिसिए झैँ लाग्छ
सलल बगेको नदीको तालमा
त्यही रूप प्रतिविम्बित लाग्छ
आकाशको टहटह जुनमा पनि
तिम्रै रूपले गिज्याइरहे झैँ लाग्छ
बगैँचाका हर फूलहरूमा
तिम्रै मुस्कान छरपस्ट देख्छु ।

कसैका हरकठोर बोलीहरूले
मलाई दुख्दैन
तिम्रो मधुर वाणीले ढाकेको हुनुपर्छ
हर सपनाहरू तिम्रै लागि
जन्मिएका हुनुपर्छ
र सपनाहरूतिम्रै लागि सजिईरहेका छन्
सायद तिमी थिएनौ भने
आशावादी सपना तुहिसकेका हुन्थे ।

मुसलधारे वर्षामा पनि तिम्रै माया
वर्षिए झैँ लाग्छ
एकान्तमा तिम्रा यादहरू
कति मिठा बनेर धकेलिँदै आउँछन्
ती यादहरूले पनि कति मोहित बनाउन सकेका
आँफैमा हराए झैँ लाग्छ
जताततै तिमी मात्रै देख्छु
हर धड्कनहरूमा तिमी
हर कदमहरूमा तिमी
के यही हो त तिमी प्रतिको प्रेम
तिमीले जन्माएको प्रेम
हर चिजसंग प्रेम
आफ्नै मनसंग प्रेम
तिम्रो कल्पनामा, तिम्रो सम्झनामा
हरेकपल, हरक्षण उब्जिरहने प्रेम
जोडिनेहरुसंग, तोडिनेहरुसंग
आफ्ना अनि पराइहरुसंग
कसैसंग पनि कहिल्यै पराइ नभैदियोस्–यो प्रेम ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *