कविता- विरक्त वर्तमान

कालो बादल मडारिएर धुम्मिएको आकाश
सानो छोराको चिच्याहट
मलिन हुँदै छाम्छ सुस्त चलेका नाडीको गति
उ कहालिएर यताउता भौँतारिन्छ
जटिल परिस्थिति,
अपनत्व नभएका छिमेकीको नजर
उ लल्याकलुलुक हुँदै
झिनो आशा सहित अस्पताल तिर पाइला लरखराउँछ
चिसो चुल्हो, विरक्तिएका सपना
अनिश्चित भविष्य, जताततै मृत्युका कहालीलाग्दा समाचारहरू
कल्पिदै वाक्क हुन्छ ऊ ।

अस्पतालमा अक्सिजनको अभाव
गरिबिको पीडा, विलिन अपनत्व
चिसो छिँडिमा छोरालाई काखी च्याप्दै
अस्पतालको गतिविधि नियालिरहन्छ
मध्यरातमा अश्रुधाराको भेल बगाउँदै
आफ्ना आगामी दैनिकी
कलिला लालाबाला सम्झिँदा
मन कुँडिएर आउँछ,
त्यतिनै बेला अस्पतालमा बजिरहेको
टेलिभिजनमा मुख्य समाचारमा सुन्छ ऊ
– चुनावको मिति घोषणा ।

उ झस्किँदै छोरालाई जोडले च्याप्छ
जीवन र मृत्युको दोसाँधमा
छोरो छटपटिएको छ
अस्पतालमा अक्सिजन छैन
खल्तीमा पैसा छैन
यो सरकार केका लागि ?
जनताहरू कुकुरसरी मरिरहेछन्
राहतका नाममा करोडौँ पैसा
उनीहरूको बङ्गलामा लगानी गर्दै
चुनावको बेलामा घरघरमा एक हात लामो
फेहरिस्ता तेस्र्याउँदै,
देश र जनताका नाममा ललिपप देखाउँछन्
संविधान विपरित नियम कानुन खडा गर्दै
जनताको नाममा प्रतिज्ञा नगर्ने नेता
कुर्सी तानिरहेछन्
जनता अस्पतालमा अक्सिजन र
उपचार अभावमा छट्पटाइरहेछन्
उता नेता कुर्सी खिचातानीमा तड्पिरहेछन् ।

सम्झिँदा उसको छाती पड्केला जस्तो हुन्छ
उसलाई लाग्छ – देश मरिसकेछ
आफू बाँच्नुको अर्थ देख्दैन
पुलुक्क छटपटिएको छोरालाइ हेर्छ
उसलाई आकाशले थिचेको भान हुन्छ
एक्कासी छोरो सहित छिँडिबाट बजारिन्छ
र टोलाइरहन्छ शून्य आकाशमा सदाका लागि….. ।
सीर्जना पोखरेल
मन्थली १, रामेछाप


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *