कविता-परदेशीको एउटा चिट्ठी
मनभरि रहर अनि भरोसा कुम्लो पारेर घर छोडेको थिएँ
तर आमा, यसपाली तिम्रो पाउ छुन
यो शीरले पाउँदैन होला
यसपाली फूलपातीलाइ छिर्के भाले नसाँच्नु
अष्टमीलाइ कालो बोको भाकल नगर्नु
यसपाली महिसासुरले जित्ला जस्तो छ
त्यसैले, फलामे खुकुरीमा धार नलगाउनु
जमरा नराख्नु, दुर्गा नथाप्नु ।
ए काले कौवा, मेरी दिदिलाई भनिदे–
तिम्रो भाइ जीवनदेखि डराइरहेको छ
मृत्युसंग लुकामारी खेलीरहेको छ
दिदी, यसपाली यमराजले जित्ला जस्तो छ
त्यसैले यो वर्ष दिपावली नमनाउनु
सयपत्री नउन्नु, मखमली नसजाउनु
बेखुसीमा दुना टपरीको मेलो नगर्नु
मेरी दिदी ! यसपालीलाई माफ गर है ।
ए जोडी परेवा हो,
मेरी प्रेयसीलाई भनिदे
यो वर्ष तिमी पनि अनिदो नै बस भनेर
तिमी जस्तै तड्पिएर रात काटेको छ भनेर
यसपाली सिउँदो भर्छु भनेको थिएँ
जग्य घुमाउँछु भनेको थिएँ
माफ गर प्रेयसी, म असमर्थ भएँ ।
बाबा ! वर्षे झरीमा
छानो चुहिने भयो होला
चुल्हो निथ्रुक्कै भिज्यो होला
आकास देखिने भयो होला
यसपाली छानो टाल्न पाउँदिन क्यारे
तिम्रो चाउरी परेका निधारले
वर्षे झरी थाम्दैन बा– म विवश छु
यो वर्ष जेनतेन जोगाउनुहोला
चुल्हो अन्तै सार्नु होला
आकास देखिरहोस्
अगेनो भिजिरहोस्
छानो चुहिरहोस्
धरर…..धर…..धररर..।
- ध्रुवचन्द्र खड्का, सिन्धुली