• धनिहरुले इनभर्टर र शक्तिशाली ब्याट्रीको प्रयोग गर्नेछन् तर गरिब र मजदुरका छोराछोरीले टुकी र मैनबत्तीमा आफ्नो फोक्सो बिगार्न पर्नेछैन। देशले प्राप्त गर्ने अरबौको राजस्व गुमाउनु पर्ने छैन।

    २०४६ सालमा प्रजातन्त्र आयो। २०४७ सालमा संविधान बन्यो। २०५२ सालमा जनयुद्ध शुरु भयो। २०६२ सालमा वृहत् शान्ति सम्झौता भयो। २०६३ सालमा अन्तरिम संविधान घोषणा भयो। राजतन्त्रको अन्त्यको घोषणा गरियो। २०६४ र २०७० सालमा दुई पटक संविधान सभाको निर्वाचन गरियो। २०७२ सालमा नेपालको संविधान २०७२ घोषणा गरियो। कैयौं सरकारहरु आए, गए। चुनाव अत्याधिक महंगो बनाइयो ताकि गरिबका छोराछोरीले त्यो पवित्र अभियानमा सहभागी हुन त परै जाओस् सोच्न पनि हिम्मत नगरोस् भन्ने अभिप्राय देखिन्छ। हात्ती छाप चप्पल लाएर हिड्ने कैयौंले हात्ती नै किन्न सक्ने हैसियत बनाउन सफल भए। महलहरु ठड्याइयो। अधिकाङ्स राजनीति पेशा भएकाहरु चिल्लो गाडीमा हुईंकिन थाले। देश सम्पन्न बन्नलाई पहिले जनता सम्पन्न हुनुपर्छ भन्ने सिद्धान्त अनुसार दलाल, नोकरशाही, माफिया, तस्कर, भ्रष्ट र कमिसनखोरहरु लगायत धेरैले आफूलाई सम्पन्न बनाउनेतर्फ अहोरात्र लागे। सफल भए। तर के देश सफल भयो ? के हाम्रा पद्धति, विधि, प्रवृत्ति, कार्यशैली, मूल्य र मान्यता, सिद्धान्त र कानुन व्यवस्था सुदृढ र जीवन्त रहन सके ? राज्यका सबै अंगहरुले जनता, संविधान र मातृभूमिप्रति आफ्नो जिम्मेवारी, कर्तव्य र इमानदारीता देखाउन सके ? सहिदको रगत र बलिदानको मूल्य बिर्सन पाईन्छ ? उनीहरुको सपना साकार बनाउने भनेर जिवित रहेका हामीहरु अब खानपिन, पहिरन, बासस्थान र केही अन्य झिनामसिना सुख सुविधामा केन्द्रित हुन थालेका हौं ? क्रान्ति, प्रतिक्रान्ति र फेरि क्रान्तिको शिलशिलालाई निरंतरता दिन खोजेका हौ कि ?

    हाम्रो देशका सामु समस्याहरु धेरै छन् । यसको अर्थ के पनि लाग्न सक्छ भने असल र राम्रा मान्छेको कमि छ। खराब मान्छेले समस्या समाधान गर्दैन। उसले समस्या सृजना गर्छ। समस्यालाई झनै जटिल बनाउँछ। कुनै पनि क्षेत्रका इमानदार, सक्षम र कर्तव्यनिष्ठ व्यक्तिहरु आफू काम गर्ने समूहमा, कार्यालयमा, संघ-संस्थामा, निकायमा अल्पमतमा पर्ने गर्छन्। सबैभन्दा तितो यथार्थ यहि हो। उनीहरुलाई बहुमतिय राजनैतिक प्रणालीअनुसार आफ्नो काम गर्ने क्षेत्रमा पनि ती भ्रष्ट र खराबहरुले विभिन्न वाधा अवरोध सृजना गरि काम गर्नै दिन्नन्। खुट्टा तान्ने प्रवृति, नेपालीहरुको एउटा आम चिरपरिचित प्रवृतिले अवरोध सृजना गरि रहन्छ। त्यसपछि ती सक्षम, इमान्दार र कर्तव्यनिष्ठ व्यक्ति पनि कि त बहुमत खराबहरुको सुरताल र गतिमतिमा हिड्नु पर्यो कि असंख्य अप्ठ्यारा र चुनौतीसङ्ग सामना गर्न तयार हुनुपर्ने हुन्छ। थोरैले मात्र ती खराब, भ्रष्ट बेतिथी र बिसङ्गतीसङ्ग लड्ने आँट र हिम्मत गर्छन्। प्रायः जसोले आत्मसमर्पण गरेको भेटिन्छ। अनि खराबहरुको बीचमा एउटा अझै खराब थपिन्छ। यसरी थपिदै थपिदै ठूलै पहाड बनेको छ। राज्यका विभिन्न संयन्त्रका जिम्मेवार र जवाफदेहि व्यक्तिहरु जब आफ्नो सबै दक्षता, सृजनशिलता र दूरदृष्टी कसरी पद हासिल गर्ने, कसरी कमाउने र पैसाको बलमा आफ्नो सामाजिक प्रतिष्ठा कसरी बढाउने तथा गलत काम गरेर कमाएको पैसा कसरी लुकाउने भन्नेमा नै आफ्नो समय र उर्जा खर्च गरेपछि के creativity, के vision, के performance, के delivery, के innovation अनि केको accountability ??? सरुवा, बढुवा, घुस र भ्रस्टाचारबाट उच्चस्तरीय जीवनशैलीको तिब्र चाहनालाई नै जीवनको पहिलो प्राथमिकतामा राख्नेहरुले देश बनाउदैनन् भन्ने कुरा स्पष्ट छ।

    यस्तो विषम परिस्थितिमा पनि उर्जा माफिया, भ्रष्ट, दलाल र खराब कार्य सम्पादन गर्ने विद्युतका कर्मचारीको बीचमा गएर कुलमान घिसिङले आफू कार्यकारी निर्देशक बनेपछि जे गरे, जसरी गरे, जति गरे र जुन बेला गरे, त्यो अभूतपूर्व र ऐतिहासिक काम थियो। उनले अझै आफूले पाइपलाईनमा राखेका अनेकौं अधुरा कामहरु गर्न चाहेकाले उनैलाई एक कार्यकाल अझै थप्नु कुनै पनि दृष्टिकोणले जायज र फाइदाजनक हुनेछ। यसले सबैलाई फाइदा पुर्याउनेछ। अधिकाङ्स नेपाली जनताको चाहना पनि पूरा हुनेछ। धनिहरुले इनभर्टर र शक्तिशाली ब्याट्रीको प्रयोग गर्नेछन् तर गरिब र मजदुरका छोराछोरीले टुकी र मैनबत्तीमा आफ्नो फोक्सो बिगार्न पर्नेछैन। देशले प्राप्त गर्ने अरबौको राजस्व गुमाउनु पर्ने छैन। समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्न टेवा पुग्नेछ । राजनैतिक दलको जनमत र अभिमत पनि धेरै बिग्रनबाट जोगाउन सकिनेछ।

    कुलमान घिसिङ लैङ्गिक हिसाबले एउटा पुरुष , जातको हिसाबले एउटा तामाङ र पदको हिसाबले नेपाल विद्युत प्राधिकरणको एउटा विशिष्ट श्रेणीको प्रवन्ध निर्देशक भनेर बुझ्नु ठूलो भूल हुनेछ। सरकार दुई तिहाईको होस् कि तीन तिहाईको होस् , आखिर त्यत्रो मतदान दिएर बलियो सरकार बनाई दिने नेपालका सार्वभौम र स्वतन्त्र जनता नै हुन्। २०४६ साल यता दल टुटफुट , सरकार परिवर्तनको खेल , सान्सद किनबेच , पजेरो संस्कृति , हजारौं भ्रस्टाचारका घटना , कमिसनको खेल , नातावाद , कृपावाद , राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण , जलविद्युतमा विश्व कै दोस्रो धनी रास्ट्र भएर पनि १८-२० घन्टाको लोडसेडिङ , सुन काण्ड , नेताहरूको उकालो लाग्दो र जनताको ओरालो लाग्दो जीवनशैली , लगभग ५० लाख युवाहरूको विदेश पलायन लगायत अनेकौं बेथिति र बिसङ्गती देख्दै आएका कुरा-बुझ्ने युवाहरु चुपचाप लाग्नुको अर्थ कमजोरी भनेर ठान्नु हुन्न। यो नेताहरु र दलहरुप्रतिको विनम्रता , आशा र भरोसा हो। यो टुट्न र मर्न दिनु हुन्न। मैले शुरुमै भने जस्तो कुलमान घिसिङलाई एउटा व्यक्ति , तामाङ जाति र जाबो एउटा अधिकृत स्तरको कर्मचारी भनेर बुझ्नु आत्मघाती कदम हुनसक्छ ! २०४६ साल यता देशले आर्थिक उन्नति , बिकास र अनेकौं क्षेत्रमा प्रगति गरेको कुरा नकार्न खोजिएको होईन। तर गति र मात्राको चर्चा पनि गरिनुपर्छ। कति हुनु पर्थ्यो र कति मात्र भयो भनी विश्लेषण जनताले गर्न थालेका छन्। देशको शासन व्यवस्थामा हुनै नहुने अनेकौं जनतालाई अप्रिय लाग्ने घटना-परिघटनाहरुको जिम्मेवारी लिन आज कोहि तयार नभएको अवस्थामा कुलमान घिसिङ जनताको आस्था , विश्वास , भरोसा र भरपर्दो व्यक्तित्व बनेको कुरा सबैले स्विकार्नु पर्छ। उनको नामबाट कतिपय स्थानीय तहका ठाउँ र चोकको नामाकरण हुनुले पनि उनी एक गौरव हुन् भन्ने कुरो प्रस्ट्याउदैन र ? यसबाट उनीप्रति जनताको आस्था, विश्वास र सम्मान छ भनी प्रष्टिदैन र ? सत्ता र शासन शक्तिको भरमा कुनै नेताको नाममा कुनै ठाउँको नामाकरण गरिएको जस्तो होईन यो। नगर्नेहरुको बीचमा एउटा गर्ने मान्छे , लुट्नेहरुको बीचमा एउटा इमानदार मान्छे, नालायकहरुको बीचमा एउटा लायक मान्छे , कपटीहरुको बीचमा एउटा सोझो मान्छे, अलोकप्रियहरुको बीचमा एउटा लोकप्रिय मान्छे , जनतालाई अध्यारोमा राखेर आफ्नो दुनो सोझ्याउनेहरुको बीचमा एउटा उज्यालो प्रदान गर्ने मान्छे र फोहोरीहरुको बीचमा एउटा सफा मान्छेको रूपमा जनताले कुलमान घिसिङलाई लिएका छन्। तसर्थ जनताले बनाएको सरकारले जनताको फैसलालाई ग्रहण नगरी अहमता , मैमत्ता , अदुरदर्शिता प्रदर्शन गर्दै सत्ता-शक्तिको गलत प्रयोग गर्छ भने के बिर्सनु हुन्न भने जनताले चाह्यो भने गद्दीमा बसेकालाई फुटपाथमा ल्याउने ल्याकत राख्छन्। विश्वमा जति पनि परिवर्तन भए सबै गर्ने तिनै जनता हुन्। तसर्थ देब्रे-दाहिने , छलकपट , तेरोमेरो र ल्याङ्गल्याङ्ग नगरी कुलमान घिसिङलाई नै अर्को कार्यकालको लागि पुन:नियुक्ति दिएर जनताको माग पुरा गर्नु नै बुद्धिमानी हुनेछ।हाम्रो संविधानको प्रस्तावना ( Preamble ) मा नेपाललाई समाजवाद-उन्मुख राज्य बनाउने भनी लेखिएको र यो देशमा समाजवाद ल्याउन कुलमान घिसिङ जस्ता पात्रको आवश्यकता भएकोले मैले उनलाई समर्थन गरेर नेपालको संविधान – २०७२ लाई पनि समर्थन गरेको अनुभूति मलाई भईरहेको छ ।

    सत्तासीन र सरकार चलाउनेको अगाडि नतमस्तक हुन नचाहेकोले, चापलुसीखोर बन्न नसकेकोले, भक्तिभाव प्रदर्शन गर्न नसकेकोले, उनीहरुको अगाडि आफ्नो शिर ननिहुराएकोले, आत्म स्वाभिमान बेच्न नचाहेकोले, फोहोरको थुप्रोमा प्रवेश गर्न नचाहेकोले, आर्थिक चलखेल गर्न नचाहेकोले, गलत कामकुरोलाई समर्थन नगरेकोले, प्राधिकरण र जनताको लागि आफ्नो अडानमा डटेर लागे बापत एक ईमानदार , कर्तव्यनिष्ठ , पेशामा समर्पित , स्वाभिमानी , सोझो , क्षमतावान , जनताले रुचाएको कुलमान घिसिङ जस्तो व्यक्तिको बारेमा जुन उदासीनता , अपहेलना , घृणा र अहमता साथै जुन अकर्मण्यता देखाइदैछ , यसले निकै ठूलो घाटा पार्नेछ। जे र जस्तोसुकै आदेश मान्नुपर्छ। हामीले भनेको नमान्ने कुनै पनि रास्ट्रसेवकको अवस्था कुलमान जस्तै हुन्छ, चाहे उसले जतिसुकै राम्रो काम गरेको किन नहोस् भनेर अन्य रास्ट्रसेवकलाई अप्रत्यक्ष रूपमा डर देखाउन खोजिएको जस्तो देखिन्छ। बलियो सरकारको अगाडि कि त जी हजुरी गर्नुपर्छ कि त घुँडा टेकेर हिड्नु पर्छ भन्ने संदेश दिन खोजिएको हो जस्तो आशय देखिन्छ। कुलमान घिसिङ केही होईन , यसलाई सजिलै ठेगान लाईन्छ। यो जाबो एउटा कर्मचारी त हो भनेर बुझिएको हो भने कुलमानको पक्षमा रुक्मांगद कटुवाललाई बचाउन रास्ट्रपति आए जस्तै वर्तमान रास्ट्रपति त पक्कै कुलमानको पक्षमा आउने छैनन् तर भविष्यमा जनताले जुन जवाफ दिनेछन् त्यो निकै महँगो साबित हुनेछ ! ढुक्क भए हुन्छ।