नेपाली वाङ्मयका भानु आदिकवि भानुभक्त आचार्य
पृष्ठभूमि:
नेपाली भाषा र साहित्यको चर्चा चल्दा सधैं सबैले श्रद्धा र सम्मानका साथ लिने नाम हो आदिकवि भानुभक्त आचार्य । नेपाली भाषाका क्षेत्रमा साँच्चिकै भानु (सूर्य) कै रूपमा उदाएका भानुभक्तले नेपाली भाषा र साहित्यलाई सूर्यले पृथ्वीलाई भन्दा कम आलोकित पारेका छैनन् । भनिन्छ, पृथ्वीनारायण शाहले नेपालको राजनीतिक एकीकरण गरे भने भानुभक्तले नेपाली भाषाका माध्यमबाट विविध भाषाभाषीलाई भाषिक एकताको सूत्रमा बाँधेर भाषिक एकीकरणको काम गरे । नेपाली भाषालाई सम्पूर्ण नेपालीको साझा भाषाका रूपमा विकास गरेर भानुभक्तले ठुलो गुन लगाएका छन् । यही असार २९ गते तिनै महान् श्रष्टाको २०७ औं जन्मजयन्ती मनाइएको छ । सोही सन्दर्भमा यस लेखमार्फत् उनीप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्ने जमर्को गरिएको छ ।
प्रारम्भिक
आजभन्दा २०७ वर्ष अघि अर्थात् वि.सं. १८७१ असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घामा पिता धनन्जय आचार्य र माता धर्मावतीदेवीको पुत्ररत्नका रूपमा भानुभक्तको जन्म भएको थियो । उनका बाजे श्रीकृष्ण आचार्य संस्कृतका प्रकाण्ड पण्डित थिए । त्यसैले भानुभक्तले बाजेबाट घरैमा संस्कृत भाषाको प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए । वि.सं.१८८६ मा बाजेसँगै वनारस गएर उनले संस्कृत व्याकरण र साहित्यको गहन अध्ययन गरे ।
भानुभक्तमा सानैदेखि असाधारण कवित्व प्रतिभा रहेको देखिन्छ । वनारसमा अध्ययन गर्दा ताका नै कुनै व्यक्तिले उनको परिचय माग्दा कविताका श्लोकमै जवाफ दिएको प्रसङ्गबाट यस कुराको पुष्टि हुन्छ । जुन परिचयात्मक कविता यस प्रकार रहेको छ:
पहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया
खूप् उच्चा कुल आर्य वंशि हुन गै सत्कर्ममा मन दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
उन्कै नाति म भानुभक्त भनी हूँ यो जानि चिन्ही लिया ।
काशीबाट फर्केपछि १८९० देखि यिनले गृहस्थ जीवन सुरु गरे ।
घाँसीसँगको भेट र समाजसेवाको प्रेरणाको प्रसङ्ग
मानिसका हृदयमा बेला बखत अनेक तरङ्ग उठ्छन् । यस्ता तरङ्गलाई प्रेरणाको स्रोतमा बदलिदिने कुनै शक्तिले कहिलेकाहींँ अज्ञात रूपमा वरदान पाएको हुन्छ । वि सं.१८९१ तिरको प्रसङ्ग हो, जतिबेला भानुभक्त २० वर्षको तन्नेरी वयमा पाइला सार्दै थिए । ऊनी ससुराली तनहुँकै मानुङ जाने क्रममा एउटा नदी किनारमा विश्राम गर्दै गर्दा उनको नजर पाखामा घाँस काट्दै गरेको एक घाँसी माथि पर्न गयो । जिज्ञासावश त्यस घाँसीसँग वार्तालाप हुँदा त्यो गरिब घाँसीले घाँस काटेर बेची पैसा जम्मा गरेर आफूले एउटा कुवा खनाउने विचार गरेको कुरा बताउँछ । दरिद्र घाँसीको यस्तो महान सोचदेखि नवयुवक भानु द्रवित हुन्छन् । आफू उच्च कुलको र शिक्षित भैकन पनि चेतनामा दरिद्र र अशिक्षित घाँसी जतिको पनि रहेनछु भन्ने ठानेर उनलाई ग्लानि महसुस हुन्छ । यस घटनाले उनको चेतनालाई झस्काइदिन्छ । अनि उनमा पनि समाजसेवाका क्षेत्रमा केही गरेर अमर बन्ने हुटहुटी जाग्छ । उनी कवितामै आफ्नो मनोभावना यसरी प्रकट गर्न पुग्छन् ।
भरजन्म घाँसतिर मन् दिई धन् कमायो
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भइकन आज यस्तो ।
मेरा इनार न त सत्तल पाटी क्यै छन्
जेजे चिज र धनहरू छन् घरभित्र नै छन् ।
त्यस घाँसीले कसरी आज दिएछ अर्ती
धिक्कार हो मकन बस्नु नराखी कीर्ती ।।
यसरी एउटा मामुली घाँसीको प्रेरणाबाट भानुभक्तले नेपाली भाषा र साहित्यको सेवाका माध्यमबाट आफूलाई अमर बनाउने अठोट गरेको किंवदन्ती प्रचलित छ ।
तर कतिपय विद्वान् भने यस कुरामा असहमति प्रकट गर्दछन् । कवि मोतिराम भट्टले भानुभक्तलाई महान र अमर बनाउन यो काल्पनिक प्रसङ्ग जोडेका हुन् भन्ने उनीहरूको दावी रहेको पाइन्छ । भानुभक्तलाई पहिलोपटक मोतीरामले नै प्रकाशमा ल्याएका हुन् । उनले वि सं.१९४८ मा ‘कवि भानुभक्तको जीवन चरित्र’ नामक पुस्तक लेखेर भानुभक्तको व्यक्तित्व र योगदानलाई जनसमक्ष ल्याएका हुन् । यिनले भानुभक्तलाई अमर पार्न उनको जीवनी लेखेर जनमन छुने कला झिके । घाँसीलाई भेटेर प्रेरणा पाए भनेर भानुभक्तका नाउँमा आफैँले कविता लेखे भन्ने आरोप उनलाई लगाइएको छ । यस तर्कको पक्षधरहरूका मतमा त्यस समयमा घाँस काटेर बेच्ने चलन नभएको तथा भानुभक्तले आफ्ना कविताहरूमा कतै पनि आफूलाई चिनाउन ’मो’ प्रयोग नगरेको तर मोतीरामले धेरै ठाउँमा यसको प्रयोग गरेको तथा यस कवितामा पनि चौथो पङ्क्तिमा ‘मो भानुभक्त……’ लेखिएकोले त्यसले भानुभक्तलाई नभइ मोतिरामलाई नै जनाउने हुँदा त्यो कविता भानुभक्तको नभएर मोतिरामकै रचना हो भन्ने दाबी रहेको छ । प्रेरणाको प्रसङ्ग जे भए पनि भानुभक्तको असाधारण आँशुकवित्व तथा नेपाली वाङ्मयमा अद्वितीय योगदान पु¥याएको कुरामा भने दुई मत छैन । त्यही रूपमा उनको मूल्याङ्कन र कदर हुनु जरुरी छ ।
भानुभक्तको योगदान
२०७ वर्ष अघि उदाएका नेपाली वाङ्मयका ज्योति भानुभक्त राणाकालीन सङ्कट्पूर्ण अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । नेपाली जगतमा एकै पल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समष्टि भाव तथा समन्वय प्रदान गरेर उनले नेपालको राष्ट्रिय विभूति जस्तो सम्मान पाएका हुन । भानुभक्तको सबभन्दा ठुलो योगदान भनेको नेपाली भाषाको उत्थान र विकास नै हो । नेपाली साहित्यमा पनि यिनको अतुलनीय योगदान रहेको छ । यिनी नेपाली कविताको प्राथमिक कालीन राम भक्ति धाराका सशक्त केन्द्रीय कवि हुन् । वाल्मीकिकृत संस्कृत आध्यात्म रामायणलाई नेपालीमा अनुवाद गरेर नेपाली जनजनको जिब्रोमा पु¥याएर भानुभक्तले नेपाली समाज र नेपाली भाषालाई बिर्सिनसक्नु गुन लगाएका छन् । वि सं.१८९८ मा बालकाण्डको अनुवाद गरेर रामायणको अनुवाद सुरु गरेका आचार्यले वि सं. १९१० मा सम्पूर्ण काण्डहरूको अनुवाद गरेर सिद्ध्याए । यसका साथै उनले प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा र रामगीता जस्ता काव्यहरूका साथै अन्य थुप्रै फुट्कर कविताहरू नेपाली साहित्य जगत तथा नेपाली समाजलाई आफ्नो नासोका रूपमा छोडेका छन् । यति धेरै कृतिहरू हुँदाहुँदै पनि उनलाई रामायणले नै अमर पा¥यो । त्यही रामायणले नेपाली भाषालाई पनि लोकप्रिय बनायो । उनले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषिक एकीकरण गरे ।
भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाको बोलवाला थियो । त्यतिबेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । भानुभक्त प्रदत्त नेपाली भाषाका कारण संसारभरि नेपाली भाषीहरूका बिच भाषिक एकता कायम हुन सकेको छ । यो उनको ठूलो योगदान हो ।
आँशु कवित्व
भानुभक्त आशु कवित्व भएका सहज कवि प्रतिभा हुन् । कुनै पनि सवालको तत्कालै कवितामै जवाफ दिन सक्ने खुबी उनमा देखिन्छ । उनले श्लोकमै आफ्नो परिचय दिएको प्रसङ्ग त अगाडि नै उल्लेख भै सकेको छ । यसका अतिरिक्त उनले अन्य विभिन्न सन्दर्भमा धारा प्रवाह कविताको सिर्जना गरेको उल्लेख भेटिन्छ । एक पटक कतै जाने सिलसिलामा साँझको समयमा गजाधर सोती भन्ने व्यक्तिको घरमा बास माग्न जाँदा गजाधरकी श्रीमती दुच्छर भएकीले बास नदिँदा क्रुद्ध हुँदै यस्तो कविता रचना गरेछन् ।
गजाधर सोतीकी घरबूढी अलच्छिनकी रहिछन्
नरक जानलाई सबसित बिदाबारी भइछ्न्
पुग्यौं साँझमा तिनका घर पिँढीमा बास गरियो
निकालिन् साँझैमा अलिक पर गुजरान गरियो ।
त्यस्तै एकपटक आफ्ना साथी तारापति उपाध्यायले भानुभक्तलाई आफ्ना घरमा लिएर गएछन् । त्यो रात उनी त्यहीँ बसे । तारापतिका घरमा सासूबुहारीले भनाभन र कुटाकुट गरेर रातभर उनलाई सुत्न दिएनछ्न् । अनि त्यस घरमा पानी पनि नखाईकन भानुभक्त हिँडेछ्न् । जाँदाजाँदै तुरुन्तै उनले एउटा कागजमा यस्तो कविता लेखेर तारापतिलाई दिएछन् ः
एक थोक् भन्छु नमान्नु दुःख मनमा हे मित्र तारापती
तिम्रा इ जति छन् जहानहरू ता लड्न्या रह्याछन् अती ।
सारै झोक उठ्यो मलाई र वधू शिक्षा बनायाँ पनि
यसले, पत्नी, बुहारी, छोरीहरूको तालिम् गरौंला भनी ।।
यहीँबाट वधू शिक्षा तयार भएको देखिन्छ ।
भानुभक्तले ३७ वर्षको उमेरमा सरकारी जागीर पाए । तर २ वर्षमै हाकिमले सरकारी रकम हिनामिनाको आरोपमा जागिरबाट हटाई मुद्दा समेत चलाए । उनलाई कुमारी चोकको खोरमा थुनियो । उनले त्यहाँ ५ महिना बिताएको उल्लेख पाइन्छ । थुनामा बस्दा यिनले जेलको दुरवस्था तथा राणाकालीन ढिलासुस्तीप्रति व्यङ्य गर्दै यस्तो कविता लेखेका थिए ः
रोज् रोज् दर्शन पाउँछु चरणको ताप् छैन मनमा कछू
रात्भर नाच् पनि हेर्छु खर्च नगरी ठूला चइन्मा म छु ।
लामखुट्टे, उपियाँ, उडुस संगी छन् यिनकै लहरमा बसी ।
लामखुट्टेहरू गाउँछ्न् ति उपियाँ नाच्छन् म हेर्छु बसी ।।
……………………………………………………
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप रहन्छन् नबोली
वोल्छन् ता ख्याल ग¥या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोलि ।
कि ता सक्तिनँ भन्नू कि त छिनिदिनु क्यान भन्छन् यी भोलि
भोलिभोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।
यस प्रकार भानुभक्त अजस्र आशु कवित्व भएका प्रतिभा थिए भन्न सकिन्छ ।
आदिकविको सन्दर्भ:
आदिकवि भनेको सुरुको वा पहिलो कवि हो । नेपाली कविता लेखनका दृष्टिले भानुभक्त पहिला कवि भने होइनन् । तर पनि उनी आदिकविको उपाधिले विभूषित छन् । उनलाई यो पगरी गुथाइदिने पहिलो व्यक्ति पनि मोतिराम भट्ट नै हुन् । भट्टले पहिलो पल्ट १९४८ सालमा भानुभक्तलाई आदिकवि लेखे । तर त्यो खासै प्रचलित भएन । पछि १९९७ सालमा जुद्ध शमशेर राणाले ’भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भनेपछि त्यो भानुभक्तको पदवीको रूपमा रह्यो र त्यसले चर्चा पायो अनि भानुभक्त आदिकवि हुन थाले । भानुभक्त भन्दा अगाडि नै धेरै कविहरूले कविता लेखेका भए पनि भानुभक्तले जतिको सरल सहज मौलिक रूपबाट कवितालाई प्रस्तुत गर्न सकेका थिएनन् । कविताको मर्म बुझेर कविता लेख्ने पहिलो कवि भानुभक्त नै भएकाले उनलाई आदिकवि मानिएको देखिन्छ । त्यस्तै नेपाली भाषामा लेखिएको सवै अङ्ग पुगेको पहिलो महाकाव्य रामायणलाई मानिन्छ । यही आदि काव्य रचनाका आधारमा पनि उनलाई आदिकवि मान्नु सान्दर्भिक देखिन्छ ।
निष्कर्ष:
भानुभक्त आचार्य वास्तवमै नेपाली वाङ्मयका भानु बनेर चम्किरहेका छन् । वि सं.१९२५ मा भौतिक शरीरको अस्त भएको पनि डेढ सय वर्षभन्दा बढी भइसकेको छ ।
आज पनि उनी उत्तिकै चर्चित र लोकप्रिय नै छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले उनलाई ‘नेपाली साहित्यको इतिहासका सर्वश्रेष्ठ पुरुष’ भनेका छन् । लेखनाथ पौड्यालले’ नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन्’ भनेका छन् । नेपाली भाषा र साहित्यका सबै जसो विद्वानहरूले भानुभक्तलाई उच्च दर्जा दिएका छन् । नेपालका भाषिक एकीकरणकर्ता तथा साहित्यका उत्थानकर्ताका रूपमा नेपाल भित्र मात्र होइन नेपाल बाहिर पनि जहाँ जहाँ नेपाली भाषा फैलिएको छ त्यहाँ त्यहाँ भानुभक्त व्याप्त छन् भन्दा अत्युक्ति नहोला । नेपाली भाषा र साहित्यका महान प्रतिभा आदिकवि भानुभक्तको बारेमा कयौं ठेली प्रकाशित भइ सकेका छन् । अझै कैयौं प्रकाशित हुनै छन् । यो सानो लेखमा उनको बारेमा वर्णन गर्न खोज्नु धृष्टता मात्रै हुन्छ । तैपनि उनको २०७ औं जन्म जयन्तीका अवसरमा एक नेपाली भाषाको विद्यार्थीका नाताले पनि केही शब्द खर्चनु आफ्नो कर्तव्य ठानेर यति लेखेँ ।
२०७ औं जन्मजयन्तीका अवसरमा स्वर्गीय आदिकविप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । अस्तु !
jkoirala33@gmail.com