कोरोना कहरको मारमा विद्यालय शिक्षा
–जनार्दन कोइराला
हालको अवस्था
कोभिड १९ को संक्रमण झन चर्को रूपमा बढ्दै जाँदा स्कुल कैले खुल्ने भन्ने अन्योल पनि बढेको छ । शिक्षक, विद्यार्थी, अभिभावक सबै अन्योलमा छन् । मन्त्री तथा सरकारका मौसम जस्तै दिनदिनै बदलिरहने अभिव्यक्ति र त्यसलाई आआफ्नै ढंगले प्रकाशन प्रसारण गर्ने च्याउसरीका मिडियाहरूले भ्रम सिर्जना गर्ने र अन्योल बढाउने काम गरेका छन् । सरकारले जेठ २८ गते यस वर्षको एस.इ.इ परीक्षा खारेज गर्ने र त्यसको वैधानिकताका लागि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्ने निर्णय गरिसकेको छ । तर एस.एल.सी (कक्षा १२) कसरी संचालन गर्ने भन्ने अझै अन्योल कायमै छ । संघीय सरकार नै अब के गर्ने र कसरी विद्यालय पुनः स्थापना गर्ने भन्ने विषयमा कुनै योजना जानकारीमा छैन । कुनै कुनै विद्यालयले आफ्नै पहलमा काम गरिरहेका छन् भने त्यसलाई सहयोग गर्ने कुनै संयन्त्र बनेको देखिएको छैन । शैक्षिकसत्रको दुई महिना भन्दा बढि घर्किसक्यो । विद्यालय तहका मात्रै ८१ लाख विद्यार्थी तथा लगभग २ लाख शिक्षकहरू घरमै बसेको पनि ३ महिना पूरा भैसक्यो । यसले आम विद्यार्थी तथा अभिभावक सम्भावित शैक्षिक क्षतिको त्रासले चिन्तित छन् । यस बिचमा यही असार १ गतेदेखि वैकल्पिक माध्यमबाट शिक्षण सिकाइलाई अघि बढाउने निर्देशिका जारी गरि शिक्षण क्रियाकलाप अघि बढिसकेको छ । तर सूचना प्रविधिको प्रयोग गरी पढाउने कुरा त्यति व्यवहारिक देखिएको छैन । सीमित वर्गका विद्यार्थी यसमा संलग्न भए पनि बहुसंख्यक भने वन्चित नै छन् ।
शैक्षिकसत्र कसरी प्रभावित भइरहेको छ
शिक्षा नियमावलीमा व्यवस्था भए अनुसार एक शैक्षिकसत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पठनपाठन हुनुपर्छ । एक शैक्षिक सत्रमा अन्य सार्वजनिक बिदा बाहेक ४५ दिन हिउँदे वा वर्षे बिदा तथा ५ दिन स्थानीय बिदा दिन पाउने व्यवस्था छ । त्यस्तै दशैंमा घटस्थापनादेखि कोजाग्रतसम्म बिदा दिने व्यवस्था छ । यस वर्ष कोरोना कहरकै बिच लकडाउनका कारण वैशाख, जेठ र असारको पनि यो लेख तयार पार्दाको अवस्थासम्ममा स्कुल खुल्ने ६६ दिनहरू बितिसकेका छन् । जेठ भरसम्मको स्थितिलाई नियाल्दा वार्षिक बिदाबाट कभर हुन सक्ने दिन पनि नाघीसकेको छ । असार १ गतेबाट नियमित पठनपाठन गर्न पाएको अवस्थामा सम्म सबै वार्षिक तथा केही पर्व बिदा समेतलाई कट्टा गरी शैक्षिकसत्रलाई नियमित अवस्थामै पूरा गर्न सकिने अवस्था विद्यमान छ । त्यसैले पनि शैक्षिकसत्र लाई प्रभावित हुन नदिन सरकारले असार १ गतेदेखि वैकल्पिक शिक्षण क्रियाकलाप अगाडि बढाएको देखिन्छ । सरकारले वैकल्पिक माध्यम अन्तर्गत डिजिटल सिकाइ सामग्री निर्माण गरी असार १ गतेदेखि निस्चित समय तालिकाका आधारमा कक्षा कक्षा १ देखि १० सम्मका कक्षाहरू नेपाल टेलिभिजन लगायत विभिन्न टेलिभिजन च्यानलमार्फत प्रसारण गरिरहेको छ । ईन्टरनेटमा पहुँच भएका विद्यार्थीका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनलाइन सिकाइ पोर्टल निर्माण गरिएकोले त्यसमार्फत तथा युट्युबबाट पनि पढ्न सक्ने व्यवस्था मिलाएको जनाएको छ ।
डिजिटल सामग्रीमा सबैको पहुँच नहुने हुँदा शिक्षक विद्यार्थी आमने सामने भएर पढाएको जतिको प्रभावकारी त हुँदैन नै । शिक्षा मन्त्रालयका सहसचिव विष्णुप्रसाद अधिकारीका अनुसार कुल विद्यालय मध्ये ३५८७ विद्यालयमा २५ भन्दा कम विद्यार्थी छन् भने १५००० विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन् । त्यस्तै ५०० भन्दा कम विद्यार्थी भएका विद्यालय ३११५० छन् । १००० भन्दा बढी विद्यार्थी भएका विद्यालय ९९१ मात्र छन् । करिब ५०५ स्कुलमा १०० भन्दा कम विद्यार्थी भएकाले भौतिक दूरी कायम गरेर पनि संचालन गर्न सकिने अवस्था रहेको उनले बताएका छन् । सङ्क्रमणको जोखिम को अवस्था हेरी विद्यार्थीलाई थप कक्षाकोठाको व्यवस्था गरेर अथवा जोर बिजोर प्रणालीबाट शिक्षक विद्यार्थी बिच दुरी कायम गरेर पनि पठनपाठन गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भएको उनले बताएका छन् । तर कतिपय विद्यालयमा क्वारेन्टाइन तथा अहिले त आइसोलेसन समेत संचालन गरिएकोले ती विद्यालय खाली गरेर स्यानिटाइज्ड नगरेसम्म त्यो सम्भावना पनि देखिन्न ।
शिक्षकको भूमिका
सामान्य अवस्थामा विद्यालय संचालन हुन पाएको भए यतिबेला शिक्षकले आफ्नो जिम्मेवारीको पाठ्यक्रम अनुसारको पाठ्यभार लगभग एक चौथाइ घर्काइसक्ने थिए । आजभोलि प्रथम त्रैमासिक परीक्षा सुरु भइसकेको हुने थियोे । अबको लगभग हप्ता दस दिन पछि त्रैमासिक परीक्षा सकेर बर्से बिदा हुन्थ्यो । तर विद्यालयमा गएर बालबालिकासँग रमाउँदै पढाउनुपर्ने अवस्थामा घरको कुनामै थन्किएर बस्न बाध्य हुनुपरेको छ । अहिले दिक्दार अवस्थामा मुस्किल साथ दिन कटाउनु परेको छ भने भोलि विद्यालय खुलेपछि बाँकी रहेको थोरै समयमा कोर्स पूरा गर्नुपर्दा आइपर्ने चापाचापको परिस्थितिको परिकल्पनाले उनीहरूलाई चिन्तित अवश्य तुल्याएको छ । बिदाहरू कुनै बाँकी रहेका छैनन् । विश्रामको त कुरै छैन, अझ अतिरिक्त समय पनि दिनुपर्ने हुन्छ । यसरी शिक्षक आफैँ चिन्तित रहेको अवस्थामा कतिपय जिम्मेवार व्यक्तिहरू नै शिक्षकहरू माथि यसरी विष वमनमा उत्रिएका छन् कि मानौँ शिक्षक नै आफ्नै रहरले घरमा आरामसाथ बसेका छन्, अनि सरकारको निर्देशनको अवज्ञा गरेका छन् । केही दिन अघि एकजना चर्चित शिक्षाविद् भनाउदाले त ‘अहिले शिक्षकहरू सुतेका छन् अझ मरेका छन्’ भन्ने जस्तो तुच्छ शब्द प्रयोग गर्न समेत भ्याए ।
केही व्यक्तिहरू यो लकडाउन अवधिको विद्यार्थीको शुल्क पनि तिर्नु हुँदैन र शिक्षकलाई तलब पनि दिनु हुँदैन भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेको पनि बाक्लै सुन्न पाइन्छ । त्यसो भए यो अवधिमा स्वास्थ्य र सुरक्षा लगायत केही अत्यावश्यक सेवा बाहेकका प्रायः सबै कर्मचारीहरू घरमा बिदामा छन् । ककसको तलब रोकिएको छ रु अन्ततिर ध्यान नजानेले शिक्षकको मात्र किन खोइरो खनेको ? त्यस्ता व्यक्तिलाई सोध्न मन लागेको छ कि लकडाउन पश्चात् विद्यालय खुलेपछि कोर्सको सुरुबाट पढाउने कि बिचबाट सुरु गर्ने ? यो अवधिको कोर्स कसले पूरा गरिदिन्छ ? विगतका वर्षहरूमा नियमित लामो बिदाको शुल्क वा तलब भुक्तानी हुन्थ्यो वा हुँदैनथ्यो ? बन्द अवधिको शुल्क या तलब भुक्तानी नगर्ने हो भने भोलि अतिरिक्त कक्षा वा लामो बिदा हुने समयमा कक्षा संचालन गर्दा शुल्क र तलब दोब्बर भुक्तानी गर्न पनि तयार हुनुपर्ला नि । सबै क्षेत्रमा यही नियम लागू गर्ने हो भने शिक्षकलाई पनि आफ्नो जिम्मेवारी राम्रोसँग थाहा छ, बन्दाबन्दी अवधि जत्ति नै निशुल्क सेवा गर्न तयार छन् । होइन भने तमाम क्षेत्रमा बन्दाबन्दी घोषणा गरेर सार्वजनिक बिदा घोषणा गरेकोमा शिक्षक मात्र किन निशानामा ? त्यसैले अभिव्यक्ति दिँदा क्षणिक आवेग र उत्तेजनामा नआई अलि सोचविचार गरेर व्यवहारिक पक्षलाई पनि हेक्का राख्नु जरुरी हुन्छ ।
र अन्त्यमा,
महामारीको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालना गर्दै विद्यालयका नियमित गतिविधिहरूलाई अगाडि बढाउने सवालमा नेपाल सरकारले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुरुप शिक्षकलाई तोकिएको जिम्मेवारी सबै शिक्षक मित्रहरूले जिम्मेवार ढंगले पालना गरौँ । यही असार १ गतेदेखि संचालन भइरहेको सो कार्यक्रममा बढी भन्दा बढी बालबालिकाहरूको सहभागिताका लागि अभिभावक तथा विद्यार्थीहरूलाई सुसूचित गरौँ । छिटो सुरक्षित ढंगले विद्यालयमा नियमित कक्षा संचालनको अनुकूल वातावरण निर्माणका लागि भूमिका निर्वाह गरौँ । आफ्नो भूमिका मार्फत नै आफू सम्मानित हुने अवस्था सिर्जना गरौँ । सङ्क्रमणका अवस्थामा सबै सरोकारवालाहरूहरूलाई संयमित र जिम्मेवार बनौँ भन्ने हार्दिक अनुरोध गर्दछु ।
(शिक्षक–श्री चन्द्रावती मावि बेलघारी, तीनपाटन सिन्धुली)