कविता – आकाश छुने तस्वीर

तस्वीर छुन नसक्ने आकाश देख्नु भएको छ ?
छैन भने हेर्नुस्
मेरो सगरमाथाको चुचुरोमा बसेर
तराईको फाँटमा बसेर
अनि पहाडको काखमा बसेर
उन्मत्त यौवन फूलेको छ पहाडमा
टपक्क टिपेर इन्द्रेणी बनाउँछन्
खोला र पर्वतले
प्रेमको घुम्टो ओडेर
लजाउँदै लुकामारी खेल्छन्
खोला खहरेसँग
अनि
प्रेम पोखेर जान्छन्
म मुटु गरम भए पछि परेली रुझाउँछु
साँच्ची यो आकाश के भएर रुँदो हो ?
लुटिन्छ कि कुटिन्छ कि के हुँदो हो कुन्नी ?
मलाई आकाश रोएको हेर्न खुब मन पर्छ
जसरी म रोएको हेर्न चन्द्रमालाई मन पर्छ।
मलाई ब्युँझिनै मन लाग्दैन
सपनिमा देश आएको बेला
चम्पा, चमेली मुस्कुराको बेला
कस्तुरीको बास्नाले प्रफुल्ल हुन्छु
त्यस बेला अत्ती मात्तिन्छु
र कल्पिन्छु
लाग्छ म पारिजात हुँ
फुलेको छु अडिन सक्दिन
एकाबिहानै झर्नु छ जसरी झर्नु छ
किनकि चोखो प्रेम टिक्दैन
मैले रात भर जूनसँग प्रेम गरेकी छु
जूनसँग गरेको प्रेम घामसँग देखाउन सक्दिन
त्यसैले घाम आउनु भन्दा अगाबै म झर्नु पर्छ
तातिएर झर्नु भन्दा शितको चिसोमै मैले झर्नु पर्छ
मलाई मन्दिर जानू र घाट जानुमा केही फरक छैन
नझर्नु झरिसके पछि
लाग्छ पन्छी बनेर आकाश चुम्नु जस्तो
तर आकाश चुम्न त्यत्ती सजिलो छैन
जति सजिलै तिमिले प्रेम चुम्छौ
आकाश चुमेर जुठो हाल्ने मेरो औकात छैन
म जताततै चुम्न सक्दिन जस्तो तिमी चुम्दै हिँड्छौ ।

– मैयाँ लामिछाने
सिन्धुली


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *