• – कोरोना महामारी बाजा बजाएर आएको हैन र भोलि के हुन्छ भन्ने पनि कसैलाई थाहा छैन । तसर्थ स्वास्थ्यकर्मीहरुको कोरोना बिमा आवस्यक छ: प्रल्हाद पोखरेल
    – सिन्धुली अस्पतालले आफ्ना कर्मचारीको बिमा गरायो भन्दैमा हामीले पनि त्यहि गर्नुपर्छ भन्ने छैन । ‘आज कोरोना महामारी आयो कोरोना बिमा गर्ने, भोलि क्यान्सरको महामारी आउला अनि के क्यान्सर बिमा पनि गर्दिनु ? यो सम्भव छैन’: कनपा.स्वास्थ्य सहसंयोजक केम बहादुर थापा
    – बेलघारी प्राथमिक स्वास्थ्य केन्द्रका सवै कर्मचारीहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर कोरोना बिमा गराएका छन्: वडा अध्यक्ष राउत

    विर्ख बहादुर वाइवा

    जेष्ठ १९, सिन्धुली/कोरोना भाइरसका कारण लाग्ने रोग कोभिड–१९ ले यतिबेला विश्व समुदाय आक्रान्त बनिरहेकोछ । संक्रमण न्युन गर्नका लागि विश्व समुदायले बन्दाबन्दी(लकडाउन) लाई पनि एउटा प्रमुख उपायको रुपमा अबलम्वन गरिरहेको छ ।
    यो महामारीमा अग्रपंतिमा रहेर काम गरिरहेका छन् स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु । सवैले आ–आफ्नो क्षेत्रबाट सक्दो भूमिका निर्वाह गरिरहेका छन्् । तर अग्रपंतिमा बसेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले तदारुकताका साथ डटेर आफ्नो भूमिका बहन गरिरहेका छन् । यसमा पनि स्वास्थ्यकर्मीहरुले प्रत्यक्ष संक्रमितहरुको घेराभित्र रहेर उनिहरुको उपचार गरिरहेका छन् । जिम्मेवारी बहनमा पनि स्वास्थ्यकर्मीहरु अग्रपंतिमा छन् भने जोखिमका हिसाबले पनि उनिहरु नै अग्रस्थानमा छन् ।
    अहिले कोरोना बिमाका समाचारहरु उत्तिकै प्राथमिकतामा छन् । कोरोना संक्रमण भएको पुष्टि भएमा बिमितलाई बिमांक बराबरको रकम उपलव्ध गराउने भन्दै बिमा कम्पनीहरु यसबारेमा सुझाउन लागिपरेका छन् । कतिपय व्यक्ति तथा संघसँस्थाहरु आँफैले चाहेर खोजेर आफू र आफ्ना कर्मचारीहरुको कोरोना बिमा गराएका छन् । अहिलेको स्थितिमा स्वास्थ्यकर्मीहरुको कोरोना बिमा गर्नु अतिआवस्यक रहेको कुरा सरोकारवालाहरु नै बताइरहेका छन् । तर आफूले भनेका कुरा व्यवहारमा लागू गर्न आवस्यक पहलकदमीका लागि भने उनिहरु दश कदम पछाडी नै देखिएका छन् ।
    सम्पूर्ण जोखिम मोलेर कोरोना संक्रमितहरुको हेरचाह तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको प्रोत्साहन र जीवन सुरक्षाका निम्ति केकस्ता सेवा सुविधा दिन सकिन्छ, कसरी उनिहरुलाई थप प्रोत्साहित गर्न सकिन्छ भन्ने विषयमा यहाँका थोरै मात्र स्थानिय तहले चासो देखाएका छन् । सरकारले नीजामति कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको बिमाको विषय बजेटमा समेटेको छ । तर तत्काल त्यसको बारेमा स्पष्ट भैनसकेकाले स्थानिय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको कोरोना बिमा गर्ने दायित्व अहिले स्थानिय सरकारकै देखिन्छ ।
    तर कोरोना कहरसंगै बन्दाबन्दी सुरु भएको अढाई महिना भैसक्दा समेत सिन्धुलीका कुनै पनि स्थानिय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको कोरोना बिमा गरिएको छैन । कुनैले स्वास्थ्य बिमाले नै यसलाई समेट्ने धारणा अघि सारेका छन् भने कुनै स्थानिय तहका स्वास्थ्य संयोजकले यसबारेमा आफूलाई केहि थाहा नभएको र कोरोना बिमा भनेको के हो भन्ने नै थाहा नभएको बताएका छन् । जिल्लाका दुई दर्जनभन्दा बढि संघसँस्थाहरुले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गराइसकेको अवस्थामा स्वास्थ्य क्षेत्रमा काम गर्ने एउटा जिम्मेवार व्यक्तिले आफूलाई कोरोना बिमाबारे थाहै नभएको र यो संभव पनि नभएको तर्क गरेका छन् ।
    अहिलेसम्म सिन्धुली अस्पतालले मात्र आफ्ना कर्मचारीहरुको कोरोना बिमा गरेको छ । अस्पतालमा कार्यरत १०८ जना कर्मचारीहरुको कोरोना बिमा गराएको अस्पताल व्यवस्थापन तथा सन्चालक समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिनुभयो । ‘लकडाउन सुरु भएको केहि दिनमै सन्चालक समितिको बैठकबाट निर्णय गराएर अस्पतालमा कार्यरत सूचिकारदेखि अधिकृत सम्मका कर्मचारीहरुको एक–एक लाख रुपैयाँको कोरोना बिमा गराएको छु, यसको सवै भुक्तानी समितिले नै गरेको हो’ अध्यक्ष पोखरेलले भन्नुभयो । आफ्ना सबै स्वास्थ्यकर्मीहरुको कोरोना बिमा गराउन सम्पूर्ण स्थानिय तहहरुलाई आग्रह गर्दै पोखरेलले भन्नुभयो ‘यो महामारी बाजा बजाएर आएको हैन र भोलि के हुन्छ भन्ने पनि कसैलाई थाहा नुहुने भएकाले बिमाको बारेमा थाहा हुनासाथ यसको कार्यान्वयनमा बिलम्व गनुहुँदैन ।’ त्यसो त सिन्धुली अस्पताल यहाँको त्यस्तो एकमात्र स्वास्थ्य संस्था हो जसले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बिमा गराएको छ ।
    तर सिन्धुली अस्पताल संगै रहेको जनस्वास्थ्य कार्यालयमा कार्यरत १५ जना कर्मचारीको भने कोरोना बिमा गरिएको छैन । कार्यालयसंग आन्तरिक श्रोत नभएका कारण चाहेर पनि कर्मचारीहरुको बिमा गराउन नसकेको जनस्वास्थ्य अधिकृत जितेन्द्र कुमार शाहले बताउनुभयो । धेरै रकम खर्च नुहुने भएकाले कर्मचारीहरुसंग सल्लाह गरेर व्यक्तिगत रुपमा रकम संकलन गरेर भएपनि कोरोना बिमा गराउन पहल गर्ने शाहको भनाई छ । यहाँका ९ वटा स्थानिय तहमध्ये अधिकांस स्थानिय तहमा स्वास्थ्कर्मीहरुको कोरोना बिमा गराउने नगराउने बारे छलफल नै नभएको त्यहाँका स्वास्थ्य संयोजकहरुले जानकारी दिनुभएको छ । कर्मचारीहरुमा मौखिक कुराकानी भएपनि बैठकमा यो विषयले प्राथमिकता नपाएको संयोजकहरुको भनाई छ ।
    त्यसो त जिल्लाको सदुमुकाम क्षेत्रमा रहेको मुख्य क्षेत्र मानिने कमलामाई नगरपालिका अन्तरगत काम गर्ने कुनै पनि स्वास्थ्यकर्मीको कोरोना बिमा गरिएको छैन । नगरका १४ वटा वडामा करिव ६० जना स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरिरहेका छन् । जिल्लामा कोरोनाको त्रास दिनदिनै थपिइरहेकाबेला भारतबाट समेत मानिसहरु ल्याउने काम भैरहेको छ । स्वास्थ्यकर्मीहरु झनझन जोखिम मोलेर सेवा गरिरहेका छन् । तर कमलामाई नगरपालिका कार्यालयका स्वास्थ्य सह–संयोजक भने आफूलाई कोरोना बिमाबारे थाहा नभएको बताइरहनुभएको छ । ‘कोरोना बिमा भनेको के हो, यसबारेमा बुझाउन कुनै पनि बिमाका एजेन्टहरु यहाँ आएका छैनन् र हामीले कुनै पनि स्वास्थ्यकर्मीको बिमा गराएका पनि छैनौँ ’ सह–संयोजक केम बहादुर थापाले भन्नुभयो । ‘सिन्धुली अस्पतालले आफ्ना कर्मचारीको बिमा गरायो भन्दैमा या अरु स्थानिय तह वा वडाले गराए भन्दैमा हामीले पनि त्यहि गर्नुपर्छ भन्ने छैन,’ थापाले भन्नुभयो ‘आज कोरोना महामारी आयो कोरोना बिमा गर्ने, भोलि क्यान्सरको महामारी आउला अनि के क्यान्सर बिमा गर्नु ? यो सम्भव छैन ।’
    बिपि राजमार्गको आकर्षक क्षेत्र मध्यको मानिने सुनकोशी गाउँपालिका अन्तरगत कार्यरत ४० जना स्वास्थ्यकर्मीहरुको कोरोना बिमा गर्नेबारे छलफल भैरहेको पालिकाका स्वास्थ्य संयोजक ओमप्रकाश झाले बताउनुभयो । मौखिक रुपमा यसबारे छलफल भैसकेको तर औपचारिक रुपमा छलफल गरेर कार्यान्वयन गर्न बाँकी रहेको संयोजक झाको भनाई छ । केहि दिनमै बैठक बसेर यसबारेमा औपचारिक निर्णय गरिने र सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको समेत कोरोना बिमा गर्ने तयारी भैरहेको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोराले जानकारी दिनुभयो ।
    त्यस्तै तीनपाटन गाउँपालिका अन्तरगत वडा नं.१ बेलघारी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको मात्र कोरोना बिमा गरिएको छ । बाँकी १० वटा वडाका स्वास्थ्यकर्मीहरुको बिमा गरिएको छैन । प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा कार्यरत स्वास्थ्यकर्मीहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर कोरोना बिमा गराएको वडा अध्यक्ष गोविन्द राउतले जानकारी दिनुभयो । त्यसो त वडा नं. १ का जनप्रतिनीधिहरुले समेत कोरोना बिमा गराएका छन् । राहत वितरणमा व्यस्त भएको र यसबारे कार्यविधि पनि थाहा नभएकोले यसतर्फ ध्यान नगएको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापाको भनाई छ । उता फिक्कल गाउँपालिका अन्तरगत कार्यरत ३७ जना स्वास्थ्यकर्मीहरुको पनि कोरोना बिमा गरिएको छैन । स्वास्थ्य सामाग्री खरिद तथा राहत बितरणमा बजेट खर्च भएकाले यो आर्थिक वर्षमा स्वास्थ्यकर्मीहरुको कोरोना बिमा गराउन गाउँपालिकाले नसक्ने पालिका उपाध्यक्ष पार्वती सुनुवारले स्पष्ट पार्नुभयो । त्यसो त दुधौली नगरपालिका, मरिणगाउँपालिका, हरिहरपुरगढी गाउँपालिका,घ्याङ्लेख गाउँपालिका र गोलन्जोर गाउँपालिका कसैले पनि स्वास्थ्यकर्मीहरुको कोरोना बिमा गराएका छैनन् ।
    यी सवै तथ्यहरु हेर्दा यो महामारिका समयमा अग्रपंतिमा रहेर अहोरात्र खटिने स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाका विषयलाई यहाँका कनुै पनि स्थानिय तहहरुले प्राथमिकतामा नराखेको स्पष्ट देखिन्छ । ‘नेतृत्वले कार्यालयमा बसेर आदेश दिँदा कर्मचारीले फिल्डमा गएर काम गर्नुपर्छ । आवस्यक स्वास्थ्य सामाग्रीको अभावका बाबजुद पनि हामीले जिम्मेवारीपूर्वक सेवा प्रवाह गरिरहेका छौँ तर हाम्रो बिषयमा सकारात्मक रुपमा आएको कोरोना बिमाको विषय नेतृत्वलाई थाहा नहुनु यो तर्कसंगत छैन’ एक स्वास्थ्यकर्मीले गुनासो गर्नुभयो । ‘फिल्डमा गएर फेस टु फेस काम गर्नेलाई थाहा हुन्छ जोखिम के हो, बिमा किन आवस्यक छ भन्ने कुरा’ वहाँले भन्नुभयो । अहिलेको अवस्थामा कोरोनाको कहरबारे अझै केहि भन्न सक्ने अवस्था नभएकाले स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन र हौसला प्रदान गर्ने बिमा लगायतका कुनै पनि सेवा सुविधा दिन नेतृत्वले हात कमाउन नहुने सरोकारवालाहरु बताउँछन् ।