वडास्तरीय बालअधिकार समिति र बालमैत्री स्थानीय शासन वडा समिति गठन
सिन्धुली/सिन्धुलीमा बालबालिकाको हक, हित तथा अधिकार सुनिश्चित गर्ने उद्देश्यले वडास्तरीय बालअधिकार समिति र बालमैत्री स्थानीय शासन वडा समिति गठन गरीएको छ ।
कमलामाई नगरपालिका वडा नं. १४ को आयोजनामा आज बिहिबार एक कार्यक्रम बिच बालमैत्री स्थानीय शासन वडा समिति गठन गरीएको हो ।
कार्यक्रममा बालबालिकाको संरक्षण, सहभागिता, विकास र बाँच्न पाउने अधिकारलाई स्थानीय तहबाट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रममा वक्ताहरूले बालश्रम न्यूनीकरण, बालविवाहको अन्त्य, गुणस्तरीय शिक्षा सुनिश्चितता तथा सुरक्षित वातावरण निर्माणका लागि स्थानीय तहको सक्रिय भूमिका अपरिहार्य रहेको समेत उल्लेख गरेका थिए ।
कमलामाई नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष श्री राजन न्यौपानेको अध्यक्षतामा कार्यक्रममा वडा सदस्यहरू, महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख एवं कर्मचारीहरू, वडा सचिव, स्वास्थ्य स्वयंसेविकाहरू, टोल विकास संस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू तथा सामाजिक संस्थाहरूका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

