सिन्धुलीमा श्रीमानले गरे बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या
सिन्धुली/जिल्लाको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार हरिहरपुरगढी ३ का जिते भनिने वीरबहादुर राईले आफ्नै घरको कोठामा ४६ वर्षीया श्रीमती रिता राईमाथि बन्चरो प्रहार गरी हत्या गरेका हुन ।
उहाँको अनुसार उनले आज दिउँसो ४ः३० बजेको समयमा बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहार गर्दा श्रीमती रिता राईको टाउकोमा गम्भीर चोट लागेपछि घटनास्थलमै मृत्यु भएको सुवेदीले जानकारी दिनुभयो ।
घटनाबारे जानकारी हुन साथ प्रहरी सहायक निरीक्षक नरेशकुमार रायको कमाण्डमा १२ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो । उक्त प्रहरीको टोलीले हत्याको आरोपमा वीरबहादुरलाई नियन्त्रणमा लिएको छ । घटनाको कारण हालसम्म खुलेको छैन । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षक अशोककुमार यादवको कमाण्डमा मुचुल्का टोली खटिएको प्रहरीले जनकारी दिएको छ ।
त्यस्तै घटनास्थल प्रहरी चौकी हरिहरपुरगढीबाट करिब ४ किलोमिटर पूर्व तथा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट करिब ३२ किलोमिटर पश्चिममा पर्दछ । घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मृतक रिता राईको लास पोस्टमार्टमको लागि सन्धुली अस्पतालतर्फ पठाइएको छ ।

