राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रमअन्तर्गत ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अभिमुखीकरण कार्यक्रम
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकामा आज मंगलबार रोजगार सेवा केन्द्रको आयोजनामा राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रमअन्तर्गत ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अभिमुखीकरण कार्यक्रम भएको छ ।अभिमुखीकरण कार्यक्रम कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख देवकोटाले श्रमको गरिमा र सम्मानबारे जोड दिँदै श्रम कसैको पनि सानो वा ठूलो नहुने बताउनुभयो । “हरेक नागरिकले आफ्नो पसिनाको उचित सम्मान पाउनुपर्छ । हाम्रो मुख्य उद्देश्य भनेको नगरपालिकाभित्र रहेका बेरोजगार जनशक्तिलाई पहिचान गरी उनीहरूलाई प्रक्रियागत रूपमा रोजगारीको हकसँग जोड्नु हो,” उहाँले बताउनुभयो । त्यस्तै देवकोटाले वडा तहदेखि नै आवेदन दर्ता र समन्वयलाई प्रभावकारी बनाउन सके मात्र ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने नाराले सार्थकता पाउने बताउनुभयो ।
साथै, अभिमुखीकरणमा प्रशासन शाखा प्रमुख सागर कुमार ढकालले प्रस्तुति दिँदै रोजगारीको हक सुनिश्चित गर्न आवेदन दर्ता प्रक्रिया, सूचीकृत गर्ने विधि र सेवा प्रवाहलाई प्रभावकारी बनाउने र बेरोजगार नागरिकको पहिचान, तथ्यांक संकलन र प्रक्रियागत रूपमा रोजगारीमा आबद्ध गराउने विषयमा प्रष्ट पार्नुभयो ।
कार्यक्रममा सहभागी भएका वडा सदस्य तथा सचिवहरूले स्थानीय तहमा रोजगारी व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सूचना प्रविधि शाखाका प्रतिनिधिहरूले डिजिटल प्रणालीमार्फत आवेदन दर्ता र तथ्यांक व्यवस्थापनलाई सहज बनाउने विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा बेरोजगारी समस्या न्यूनीकरण, मर्यादित श्रमको प्रवद्र्धन तथा रोजगारी सिर्जनाका लागि स्थानीय तहबीच सहकार्य र समन्वयको आवश्यकता विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, प्रशासन शाखा प्रमुख, वडा सदस्यहरू, वडा सचिवहरू तथा सूचना प्रविधि शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

