आयुर्वेद स्वास्थ्य सेवा प्रति बढ्दो आकर्षण
सिन्धुली/सिन्धुलीमा पछिल्लो समय मानिसहरु आयुर्वेद स्वास्थ्य सेवा प्रति निकै आकर्षित भएका छन् ।
आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सिन्धुलीको अनुसार गत वर्षको तुलनामा यस वर्ष आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सिन्धुलीबाट सेवा लिनेको सख्या दोब्बरले बढेको छ । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सिन्धुलीका निमित्त कार्यालय प्रमुख दिपकराज तिमल्सिनाको अनुसार पछिल्लो तिन वर्षको तथ्याङ्क हेर्ने होभने आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सिन्धुलीबाट सेवा लिनेको संख्या हालसम्मकै उच्च देखिन्छ ।
आयुर्वेद तथा बैकल्पिक चिकित्सालय ले उपलब्ध गराएको तथ्याङक हेर्दा २०८०र८१ मा ४२ हजार ८ सय ५६ जनाले सेवा लिएका छन् । त्यस्तै २०८१र८२ मा ४६ हजार २ सय ६ जना र चालु आर्थिक वर्ष २०८२र८३ को ७ महिनाको अन्तरालमा ३६ हजार ४ सय ९६ जनाले सेवा लिएका छन् ।
कार्यालयले दिएको तथ्यांक अनुसार यहाँको आयुर्वेद कार्यालयले आफ्नो तर्फबाट सेवा प्रदान गर्न र यसको प्रभावकारीताको विषयमा प्रचार प्रसार गर्न कुनै कन्जुस्याँइ गरेको देखिँदैन । त्यसोत बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले गरेको मूल्यांकनको आधारमा सिन्धुलीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुली बागमती प्रदेशकै उत्कृष्ट भएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीले प्रवाह गरेको सेवा प्रवाह निकै प्रभावकारी भएका प्रतिक्रियाहरु आएका छन् । यसबाट प्रष्ट हुन्छकी आयुर्वेद उपचारप्रति यहाँका मानिसहरुमा विश्वास बढ्दै गएको छ । यो सकारात्मक पक्ष पनि हो ।
हालै सम्पन्न भएको न्यूनतम सेवा मापन कार्यक्रममा सो कार्यालयले ७५ प्रतिशत ल्याउन सफल भएको छ। हाल आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीले विभिन्न सेवाहरु प्रवाह गर्दैआएको छ ।
कार्यालयले नियमित बहिरंग सेवा, पन्चकर्म र पूर्वकर्म सेवा, योग, निःशुल्क फिजियोथेरापी, औषधि वितरण, स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक आयुर्वेद औषधि वितरण लगायतका सेवा प्रवाह गर्दै आएको छ । साथै कार्यालयले हरेक हप्ताको बुधवार मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण सेवा दिँदै आएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका दिपकराज तिमल्सिनाले जानकारी दिनुभयो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रदान गरिरहेका सेवा र सेवा प्रवाहप्रति कुनै गुनासाहरु भए सुझावका रुपमा स्विकार गर्न तयार रहेको निमित्त कार्यालय प्रमुख दिपकराज तिमल्सिनाले बताउनुभयो । साथै थप सेवा प्रवाह गर्न कार्यालयले आफ्नै भवन निर्माणका लागि प्रयास गरिरहेको वहाँको भनाई छ ।

