पिपल भञ्ज्याङमा पिकअप दुर्घटना, तीन जना घाइते
सिन्धुली /सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित पिपल भञ्ज्याङमा गएराति पिकअप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।जिल्ल प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार हिजो सनिबार साँझ ७.४० बजेको समयमा सिन्धुलीबाट खुर्कोटतर्फ जाँदै गरेको सुँगुर बोकेको बा.८च.९३०४ नम्बरको टाटा पिकअप बि.पी. राजमार्गबाट करिब १०० फिट तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते हुनेहरूमा गोलन्जोर गाउँपालिका–१ निवासी २१ वर्षीय सन्तोष सार्की रहेका छन् । उनको देब्रे खुट्टामा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, मरिण गाउँपालिका–१ निवासी २० वर्षीय सरोज पुर्कोटीको मुख र खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ । यस्तै, मरिण गाउँपालिका–१ निवासी १७ वर्षीय दीपक पुर्कोटीको दायाँ खुट्टा र टाउकोमा चोट लागेको छ । उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरु लाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ ।
प्रहरीको अनुसार दुर्घटनाग्रस्त पिकअप घटनास्थलमै रहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेकोे छ ।


