राजनीतिमा हुने लैङ्गिक हिंसाका असर र निवारणका उपाय विषयक अन्तरक्रिया
सिन्धुली / “प्रविधीको सही प्रयोग गरौ लैङ्गिक हिंसा अन्त्य गरौं”भन्ने नाराका साथ सुरु भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरर्गत सिन्धुलीमा बुधबार राजनीतिमा हुने लैङ्गिक हिंसाका असर र निवारणका उपाय विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
राजनीतिमा हुने लैङ्गिक हिंसाका असर र निवारणका उपाय विषयक अन्तरक्रिया कार्यक्रमको सहजीकरण महिला मानवअधिकार रक्षक सञ्जाल सिन्धुलीका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डे र महिला मानव रक्षक सञ्जाल सिन्धुलीका सल्लाहकार पार्वती भट्टराईले गर्नुभएको थियो ।
कमलामाई नगरपालिका सिन्धुली र महिला मानव रक्षक सञ्जाल सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा महिलाहरुले राजनीति र सामाजिक सञ्जालबाट हिंसा भोग्नु पर्ने,सामाजिक सञ्जाल वा प्रविधिको प्रयोगबाट गरिने हिंसा,कुन कुन माध्यमबाट महिलाहरुलाई हिंसा हुन्छ र कसरी बच्न सकिन्छ भन्ने लागएको विषयमा छलफल गरिएको थियो ।
सो कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले लैङ्गिक हिंसा न्युनिकरणको लाागि आफ्नो व्यक्ति, घर, समाजबाटै सुरु गर्नपर्ने बताउनुभयो । त्यस्तै उहाँले समाजमा रहेका हरेक व्यक्ति कोही कसैलाई पनि भेदभाव नगरि अघि बढ्नु पर्ने आग्रह गर्नुभयो ।त्यस्तै नगरका उपप्रमुख मञ्जु देवकोटाले लैङ्गिक हिंसा महिलालाई मात्र नभई सबैलाइै पर्न सक्ने भएकाले कोहि कसैले पनि हिंसा सहेर बस्नु नहुने बताउनुभयो । त्यस्तै उहाँले लैङ्गिक हिंसा विरुद्ध १६ दिन मात्र नभई ३६५ दिन नै यस विरुद्ध सचेत भई अघि बढ्नु पर्ने बताउनुभयो ।
कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका महिला नेतृहरु,वडा सदस्यहरू लगाएत पत्रकारहरुको सहभागिता रहेको थियो । त्यस्तै सोही अवसरमा हिजो साँझ कमलामाई नगरपालिका अगाडि दीप प्रज्ज्वलन गरी १६ दिने अभियान समापन गरिएको थियो ।


