जिल्लामा मतदाताको सङ्ख्या २ लाख भन्दा धेरै पुग्यो

सिन्धुली / जिल्ला निर्वाचन कार्यालय सिन्धुलीको अनुसार जिल्लामा मतदाताको सङ्ख्या २ लाख १५ हजार ४  सय ५४ पुगेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भएपछि सुरु भएको मतदाता नामावली दर्ता प्रक्रियामा थप ७ हजार ३९ मतदाताले नामावली दर्ता गराए संगै जिल्लामा मतदाताको सङ्ख्या २ लाख १५ हजार ४ सय ५४ पुगेको हो ।
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका सुचना अधिकारी अस्मिता लुङगेलीको अनुसार असोज १० गतेसम्म अद्यावधिक विवरण अनुसार सिन्धुलीमा मतदाताको सङ्ख्या २ लाख ८ हजार ४१५ जना रहेको थियो । तर हाल मंसिर ५ गतेसम्म निर्वाचन कार्यालयमा मतदाताको निबेदन आएको आधारमा जिल्लामा मतदाताको सङ्ख्या २ लाख १५ हजार ४५४ पुगेको उहाँले सिन्धुली खबरलाई बताउनुभयो ।
लुङगेलीको अनुसार पहिलो पटक कार्तिक १८ गतेसम्म नामावली दर्ता गर्ने समयसीमा राखेको निर्वाचन आयोगले उक्त म्याद मंसिर ५ गतेसम्म थप गरेको थियो । उक्त अवधिभर वेबपोर्टलमार्फत अनलाइन प्रविधिबाट ५ हजार २३ जनाले नामावली दर्ता गराएका थिए भने बायोमेट्रीक अर्थात आफै उपस्थित भएर २१ सय ४० जनाले मतदाता नामावली दर्ता गरेका छन् ।
त्यस्तै हाल दर्ता भएका नामावलीमा दोहोरिएका नामसमेत पर्ने सम्भावना उच्च रहेकाले मतदाता नामावली अद्यावधिक भएपछि मात्रै वास्तविक तथ्याङ्क आउने उहाँले बताउनुभयो ।
कार्यालयले मंसिर २१ गतेदेखि २७ गतेभित्र अद्यावधिकका लागि निवेदन दिन आग्रह गरेको छ । सो अवधिभित्र परेको दाबीविरोध, दोहोरिएको नाम हटाउने, मृत्यु भएका र नागरिकता त्याग गरेका मतदाताहरुको नाम हटाउन निवेदन परेपछि आयोगले उक्त निवेदन माथि छानबिन गरी पुष १५ गते सम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ ।
सिन्धुलीमा हाल १५१ मतदान स्थल रहेको छ भने २६८ मतदान केन्द्रहरु छन् । मतदाता थपिए संगै मतदान स्थलहरु र केन्द्रहरु पनि थप हुन सक्ने कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *