गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालमा २४ घण्टे आकस्मिक सेवा सुरु
सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिकामा गत सोमबारबाट १५ शैय्याको गोलन्जोर आधारभूत अस्पतालमा २४ घण्टे आकस्मिक सेवा औपचारिक रूपमा सुरु भएको छ ।
औपचारिक रूपमा सुरु भए संगै अस्पतालमा फार्मेसी, एक्स–रे, भिडियो एक्स–रे, प्रयोगशाला सेवासहित आधारभूत स्वास्थ्य सेवाका अधिकांश सुविधाहरु सञ्चालनमा आएको छ ।
उक्त सेवाहरु सुरुभए संगै गोलन्जोर, फिक्कल र सुनकोशी गाउँपालिकाका नागरिकले अब नजिकैबाट उपचार सुविधा पाउने भएका छन् ।
अस्पताल सञ्चालनका लागि ब्याक टू लाइफ इभी जर्मनीको आर्थिक सहयोग तथा समुदाय पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीको प्राविधिक सहयोगमा ६ करोड ७६ लाख २१ हजार १३५ रुपियाँको लागतमा उक्त भवन निर्माण गरिएको छ ।
उक्त अस्पताल सञ्चालनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा र गोलञ्जोर गाउँपालिका बिच स्वास्थ्य सेवा र शिक्षामा सहकार्य गर्ने सम्झौता भएको छ । नजिकैबाट उपचार सुविधा पाउने भए पस्चात पालिकाबासी निकै हर्षित भएका छन् ।


