हरिहरपुरगढीका अध्यक्ष वाइबाको सक्रियतामा खुलाइयो पहिरोले अवरुद्ध मदन भण्डारी राजमार्ग

हरिहरपुरगढी, सिन्धुली/अविरल वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध मदन भण्डारी राजमार्ग हरिहरपुरगढी गाउँपालिकाको अग्रसरतामा खुलाइएको छ । गत शुक्रबार रातिदेखि आइतबारसम्म लगातार परेको पानीका कारण अवरुद्ध राजमार्ग खुलाउन गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबा आफैं ‘फिल्ड’मा खटिनुभएको थियो ।

अध्यक्ष वाइबाका अनुसार गाउँपालिकाको डोजर प्रयोग गरी गाउँपालिकाभित्र पर्ने मदन भण्डारी राजमार्गको विभिन्न खण्डमा खसेको पहिरो हटाइएको छ । हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर २ को भुत्रे, वडा नम्बर ४ को हाकपारा, वडा नम्बर ५ को बोटेनीलगायत स्थानमा पहिरोले राजमार्ग अवरुद्ध पारेको थियो ।

‘गाउँपालिकाको डोजर र स्रोत साधन परिचालन गरेर अवरुद्ध राजमार्ग खुलाउन सफल भएका छौं,’ गाउँपालिका अध्यक्ष वाइबाले भन्नुभयो । सडक अवरुद्ध हुँदा यात्रुलाई परेको समस्यालाई मध्यनजर गरी पानी रोकिनेबित्तिकै पहिरो हटाउने काम थालेको उहाँले जानकारी दिनुभयो । मदन भण्डारी राजमार्ग खुलाउने काम सकेलगत्तै गाउँपालिकाभित्र अवरुद्ध भित्री सडकहरु सञ्चालनमा ल्याउन गाउँपालिका लागिपरेको छ ।

बाढी तथा पहिरोका कारण अवरुद्ध भित्री सडकहरु खुलाउने काम भइरहेको गाउँपालिका अध्यक्ष वाइबाले बताउनुभयो । ‘अवरुद्ध सडकहरु खुलाउने काम सुरु गरिसकेका छौं,’ उहाँले भन्नुभयो । क्षति पुगेका सडकहरुको विवरण लिई मर्मतका लागिसमेत तत्काल पहल थालिने अध्यक्ष वाइबाले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *