डम्फु बनाउने २० दिने सीपमूलक तालिम सम्पन्न

सिन्धुली /गत भदौ १९ गते देखि सञ्चालन भएको जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा डम्फु बनाउने २० दिने सीपमूलक तालिमको मंगलबार एक समारोहबीच समापन गरिएको छ ।

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुवप्रसाद ढकालको अध्यक्षता तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा सो तालिम समापन भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवं हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले तामाङ समुदायको सांस्कृतिक एवं परम्परागत बाजा डम्फुको संरक्षणसँगै उक्त बाजा बनाउने सीप विकासमा तालिम उपयोगी भएको बताउनुभयो ।

साथै संस्कृति हाम्रो अमुल्य पहिचान उल्लेख गर्नुहुँदै तामाङ मात्रै नभई गाउँपालिकाभित्र रहेका सम्पुर्ण जातजातिहरुको संस्कार जगेर्ना गर्नको लागि गाउँपालिकाले विभिन्न कार्यक्रम गरिने बताउनुभयो ।

उहाँले तालिममा सहभागीहरुले डम्फु बनाएर बिक्री गरी आयआर्जन गर्नसक्ने बताउनुभयो । डम्फुको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीको वार्षिक कार्यक्रमअनुसार सीप विकास तालिमको आयोजना गरिएको हो । प्रमुख ध्रुवप्रसाद ढकालले सहभागिहरुले उत्साहपूर्वक सिप सिकेको भन्दै खुसी व्यक्त गर्नुभयो । वर्षभरिमा विभिन्न सीपमूलक तालिम सिकाइने र युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले जिल्लाका विभिन्न ठाउँमा तालिम प्रदान गरिँदै आएको जानकारी गराउनुभयो ।

सोही कार्यक्रमअन्तर्गत तामाङ समुदायको बाहुल्यता रहेको सो ठाउँमा मागअनुसार संस्कृतिको जगेर्नासँगै स्वआर्जनमा सहयोग गर्ने उद्देश्यले डम्फु बनाउने तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँले तालिममा सहभागीहरुलाई सिकेको सीप उपयोग गर्नसमेत आग्रह गर्नुभयो ।

तालिममा स्थानीय तामाङ समुदायका २० जना सहभागी रहनुभएको थियो । तालिममा लिलाबहादुर स्याङ्तानले प्रशिक्षको भूमिका निभाउनुभएको थियो । उहाँले सांस्कृतिक एवं परम्परागत बाजाको संरक्षणमा गरिएको यो पहल प्रशंसानीय भएको बताउनुभयो । डम्फु बनाउने परम्परागत सीप युवाहरुलाई सिकाउन पाउँदा आफूलाई खुसी लागेको प्रशिक्षक स्याङ्तानले बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्य, गाउँपालिकाका प्रवक्ता तथा ४ नम्बर वडाका अध्यक्ष कमलकुमार राई, १ नम्बर वडाका अध्यक्ष जितबहादुर थिङ, २ नम्बर वडाका अध्यक्ष विश्व राई, ५ नम्बर वडाका अध्यक्ष साईला लामा, ६ नम्बर वडाका अध्यक्ष एकबहादुर मोक्तान, ७ नम्बर वडाका अध्यक्ष बिचबहादुर मोक्तान, ८ नम्बर वडाका अध्यक्ष धनबहादुर मोक्तान लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *