घ्याङ्लेख गाउँपालिकाले पुनर्निर्माणका लागि १ लाख १० हजार रुपैयाँ सहयोग गर्ने

सिन्धुली/जेन–जी आन्दोलनको क्रममा सिन्धुलीमा क्षति पुगेका कार्यालय र सार्वजनिक सम्पत्तिको पुनर्निर्माणका लागि सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाले सहयोग गर्ने भएको छ ।
हिजो मंगलबार बसेको गाउँपालिकाकोे कार्यपालिका बैठकको निर्णय अनुसार सहयोग गर्न लागेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले बताउनुभयो ।
आन्दोलनका कारण क्षतिग्रस्त सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा योगदान पु–याउने उद्देश्यले उक्त गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको तलब–सुविधाबाट कटौती गरी १ लाख १० हजार रुपैयाँ बराबरको राष्ट्रिय पुनर्निर्माण कोषमा सहयोग गर्ने निर्णय गरेको प्याकुरेलले बताउनुभयो । उहाँको अनुसार जिल्ला प्रशासन कार्यालयमा नागरिकता छाप्ने प्रिन्टरसहितको कम्प्युटर र जिल्ला अदालतलाई कम्प्युटर चाँडै हस्तान्तरण गरिनेछ ।
जिल्लामा १३ वटा सरकारी कार्यालय क्षति भएको छ । जसमध्ये जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कमलामाई नगरपालिका, मालपोत कार्यालय, जिल्ला समन्वय समिति, करदाता सेवा कार्यालय र नेपाल बार एसोसिएसन जिल्ला बार इकाइ प्रमुख छन् । आन्दोलनका क्रममा उक्त कार्यालयका कागजातहरु, तथ्याङ्क, कम्प्युटर, प्रिन्टरलगायतका उपकरण नष्ट भएका थिए । साथै जिल्ला प्रशासन कार्यालयको डाटा सेन्टर, नागरिकता, राहदानी, प्रशासनिक तथा मुद्दा अभिलेख समेत जलेर नष्ट भएका छन् ।