प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई हरिहरपुरगढी गाउँपालिकाद्धारा भव्य स्वागत

सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यलाई आज एक औपचारिक कार्यक्रमकाबीच स्वागत गरिएको छ ।
प्रमुख प्रशासकिय अधिकृत आचार्यलाई स्वागत गर्दै पालिका अध्यक्ष बज्रध्वज वाइबाले स्थानीय तहका कर्मचारी र जनप्रतिनीधिहरुबीचको सम्वन्ध नङ र मासुको जस्तो हुनुपर्ने धारणा राख्नुभयो । स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष वाइबाले भन्नुभयो “स्थायी कर्मचारी, अस्थायी कर्मचारी, करारका कर्मचारी लगायतका सबैले स्थानीय सरकार र राष्ट्रका लागि काम गर्ने हो । यसमा कसैले कसैलाई हेयको दृष्टिले हेर्नुहुँदैन ।” कर्मचारीहरु र स्थानीय जनप्रतिनीधहरुबीच सुमधुर सम्बन्ध भएन भने पालिकाले समृद्धि प्राप्त गर्न कठिन हुनेभएकाले सवैको आपसी सहकार्य जरुरी रहेको वाइबाले बताउनुभयो ।
गाउँपालिकाको विकास र जनताको सेवाका लागि जनताबाट निर्वाचित जनप्रतिनिधि र सोहि उद्देश्य लागि प्राप्तिका लागि सरकारी सेवामा आएका कर्मचारीको समान उद्देश्य भएकोले जनताको सेवाको लागि एकढिक्का भएर अगाडी बढ्न अध्यक्ष वाइबाले कर्मचारीहरुलाई सुझाव समेत दिनुभयो । स्थानीय सरकारले नै ऐन बनाएर कार्यान्वयन गर्न सक्ने संवैधानिक अधिकार भए पनि संघीय कानूनहरुले विभिन्न बहानामा रोकेर काम गर्न नदिएको प्रति वहाँले असन्तुष्टि जनाउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले गाउँपालिकाको विकास र जनतासँगको सम्बन्धलाई सन्तुलित रुपमा अगाडि बढाउन विशेष ध्यान दिने प्रतिबद्धता जनाउनुभयो । आफ्नो ज्ञान, सीप, क्षमता र कार्यानुभवको आधारमा जनप्रतिनीधि र सरोकारवाला सबैसँग सहकार्य गरेर पालिकाको हितमा काम गर्ने आचार्यको भनाई छ । यसमा सम्वन्धित सवै पक्षको सहयोग अपरिहार्य हुने वहाँले बताउनुभयो । त्यस्तै स्वागत कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष चेख बहादुर थिङले जनप्रतिनीधि र कर्मचारीको एकताबाट मात्र स्थानीय तहको समृद्धी सम्भव हुने धारणा राख्नुभयो ।
स्वागत समारोहमा गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङ, निवर्तमान उपाध्यक्ष अनिता राई गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष कमलकुमार राई, १ नम्बर वडाका अध्यक्ष जितबहादुर थिङ, २ नम्बर वडाका अध्यक्ष विश्व राई, ५ नम्बर वडाका अध्यक्ष साईला लामा, ७ नम्बर वडाका अध्यक्ष बिचबहादुर मोक्तान, ८ नम्बर वडाका अध्यक्ष धनबहादुर मोक्तान, कार्यपालिका सदस्यहरु तथा शाखागत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा निवर्तमान प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकाराले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।