अमर्यादित कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतमा स्वीकार गर्न सकिँदैन : अध्यक्ष वाईवा

सिन्धुली/हरिहरपुरगढी गाउँपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई कर्मचारीको आचारसंहिता र मर्यादा भित्र नरहेकोले प्रमुख प्रशासकीय अधिकृतको रुपमा स्वीकार गर्न नसकिने गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवाले बताउनुभएको छ।
आईतवार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष वाइबाले गाउँपालिकाको अध्यक्ष तथा गाउँ कार्यपालिकालाई मानमर्दन गर्दै कुनै पार्टी स्वार्थमा गुटबन्दी गरेर गाउँपालिकाको बद्नाम गर्ने कार्य गरेकोले प्रमुख प्रशासकीय अधिकृतमा स्वीकार्य नरहेको बताउनुभयो ।
“भाद्र २ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतमा अजम्बर राईलाई सिफारिस गरेको सूचना ३ गते पाएँ । उहाँले फोन गरेर गाडी पठाईदिनु भन्नु भयो, मैले गाडी नभएको कुरा जानकारी गराएँ । गाउँ कार्यपालिकाको बैठक ६ गते तोकि सकिएकोले गाउँ कार्यपालिकाको बैठक पछि खबर गर्ने बताएँ। तर उहाँ त्यस पछि अध्यक्षलाई कुनै सूचना पनि नदिई ५ गते नै गाउँपालिकामा आएर निश्चित गुटबन्दि र राजनीतिक स्वार्थमा परिचालित भएर हाजिर गर्नुभएछ” अध्यक्ष वाइबाले भन्नुभयो। विभिन्न मिडियालाई भ्रमपूर्ण सूचना दिएर कर्मचारी आचारसंहिता विपरित गतिविधि गरेकोले प्रमुख प्रशासकीय अधिकृतको रुपमा राईलाई स्वीकार गर्न नसकिने वहाँले स्पष्ट पार्नुभयो ।
“हामीले गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाई सकेका छौं । अजम्बर राई बाहेक अरु कर्मचारी पठाए स्वीकाछौं ।” अध्यक्ष वाईवाले भन्नुभयो। भदौ ५ गते वडा नं. ३ को वडा सदस्य शंखमाया भोलनको आमाको निधनमा श्रद्धाञ्जली तथा दाहसंस्कारको लागि गएको अवस्थामा गाउँपालिकामा आएर राईले प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर गरेर बाहिरिएर विभिन्न सञ्चारमाध्यममा अध्यक्षले हाजिर रजिष्टर लिएर भाग्यो भन्ने जस्ता भ्रामक सूचना दिएर गाउँ पालिकाको बद्नाम गरेको अध्यक्ष वाईवाको भनाई छ।
गाउँकार्यपालिकाको कार्यालयलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि गाउँ कार्यपालिकाका निर्णयबाट १०ः१५ बजेसम्म कर्मचारीले हाजिर गरिसक्नु पर्ने र १०ः१५ बजे पछि सुरक्षाकर्मीले हाजिर सुरक्षित राख्ने व्यवस्था रहेको अध्यक्ष वाईवाले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत गाउँ कार्यपालकाको सदस्य सचिव रहने व्यवस्था रहेको स्मरण गराउदै अध्यक्ष वाइबाले भन्नुभयो “गाउँ कार्यपालिकाको निर्णय कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी भए पनि ६ गतेको गाउँ कार्यपालिकाको बैठकको सूचना गर्दा पनि बैठकमा सहभागि नभएकोले अजवाफदेहि र अमर्यादित कर्मचारी स्वीकार्य छैन ।”