गौमती माविमा वेथिती विरुद्ध आवाज उठाउने शिक्षक सरुवा, शिक्षकद्वारा रिले अनशन सुरु

सिन्धुली/कमलामाई नगरपालिका स्थित गौमती माध्यमिक विद्यालयका शिक्षकहरुलाई बिना कारण गरिएको सरुवा र विद्यालयमा भईरहेको बेथितीका विरुद्ध शिक्षकहरुद्वारा रिले अनशन गरिएको छ ।
विद्यालयमा भएका बेथितीको विरुद्ध आवाज उठाउँदै आएका शिक्षकहरुलाई नगर शिक्षा समितिले विना पूर्व सूचना कामकाज सरुवा गरेको छ । सहायक प्रधानाध्यापक तथा प्लस टु संयोजक निमावि द्वितिय शिक्षक शंकर प्रसाद ढकाल र नेपाल शिक्षक महासंघ जिल्ला समिति सिन्धुलीका अध्यक्ष निमाशि द्वितीय शिक्षक विष्णुप्रसाद फूयाँललाई प्रतिशोधपूर्ण सरुवा गरिएको भन्दै शिक्षकहरुले रिले अनशन सुरु गरेका हुन् ।
शिक्षक ढकाल र फुँयालले विद्यालय व्यवस्थापन समितिले विद्यालयमा गरेका राजनीतिक हस्तक्षेप र बेथितीका सवालमा आवाज उठाउँदै आइरहनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले विद्यालयमा नियुक्ति तथा छात्रावृत्ति वितरणमा हस्तक्षेप गर्दै आफ्नो पक्षकालाई मात्र दिदै आएको भन्दै विरोध हुने गरेको थियो । विद्यालयको विकास र शैक्षिक गुणस्तरका लागि निरन्तर क्रियाशिल रहिरहेको अवस्थामा कुनै पूर्व सूचना विना प्रतिशोधपूर्ण सरुवा गरिएकोले सो निर्णयको विरोधमा विद्यालयको प्राङ्गणमा नै रिले अनसन बसेको शिक्षक विष्ण फूयाँले जानकारी दिनुभयो । नगर शिक्षा समितिको पदेन सदस्य नेपाल शिक्षक महासंघका नगर अध्यक्ष रहने भए पनि बैठकमा कुनै खबर नगरि शिक्षक सरुवाको निर्णय गरिएको फूँयालको भनाई छ ।
शिक्षक ढकाल विगत ३५ वर्ष देखि गौमती माविमा निमावि शिक्षकको दरबन्दीमा रहि कक्षा १२ सम्म गणित विषय अध्यापन गराउनुहुन्छ । ढकालले सिभिल इन्जिनियरिङ संयोजक, कक्षा ११ र १२ को संयोजकको जिम्मेवारी र सहायक प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको छ । विगत लामो समय देखि विद्यालय व्यवस्थापन समितिमा राजनीतिक हस्तक्षेपमा गैर अभिभावक हुने र विद्यालय प्रशासनसँगको मिलेमतमा विद्यालयको हीत विपरित कार्यहरु भएको निर्णय विरुद्ध आवाज उठाउँदै आईरहनु भएको थियो ।
ढकालको नेतृत्वमा वृहत्तर शैक्षिक विकासका लागि एक करोड रुपैयाँको शैक्षिक विकास कोष स्थापनाको लागि सहयोग संकलन अभियान सञ्चालन भैरहेको छ । हाल सो कोषमा ९ लाख रकम संकलन भईसकेको छ । त्यस्तै शिक्षक फूँयाल विगत ११ वर्ष देखि निमावि दरबन्दीमा रहि कक्षा १२ सम्म शिक्षण गर्दै आईरहनु भएको छ । फरक राजनीतिक आस्थालाई समर्थन गर्ने भएका कारण नै विद्यालय व्यवस्थापन समितिबाट पटक पटक असहिष्णु व्यवहार हुँदै आएको र अगाडी देखि नै सरुवाको धम्कि खेप्दै आइरहेको फूँयालले बताउनुभयो ।
विद्यालयमा विद्यार्थीहरुको चाप बढि रहेको अवस्थामा निमावि विज्ञान विषयको दरबन्दी कट्टा गरि सरुवा गरिएको भन्दै रिले अनशन सुरु गरिएको फूँयालले बताउनुभयो । विद्यालयमा बढ्दै गएको बेथिती, शिक्षक कर्मचारी माथि हुने गरेको धम्की र त्रासपूर्ण वातावरण अन्त्य गर्न तथा अन्यायपूर्ण शिक्षक सरुवाको विरुद्ध न्यायका लागि पहल गरिदिन अनसनरत शिक्षकहरुले सबैसँग अपिल गर्नु भएको छ ।
शिक्षकहरुले गौमती माविमा उठाएका वेथितिका विषयहरु
१) विद्यालयका लागि आवश्यक वस खरिदमा व्यवस्थापन समितिले खरिद ऐन विपरित, विना प्रतिस्पर्धा
एक व्यक्तिको बस खरिद गर्न समितिले निर्णय गर्न खोज्दा विरोध गरिएको ।
२) विद्यालयको विकासका लागि एक करोडको शैक्षिक कोषमा अनावश्यक हस्तक्षपको विरोध गरिएको ।
३) विद्यालयका लागि आवश्यक दुई जना नीजि श्रोतको शिक्षकका लागि विना विज्ञापन ४ जना शिक्षक
राख्ने निर्णयको विरोध गरिएको ।