महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था घोषणा

सिन्धुली/हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था घोषणा गरिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीले आज एक कार्यक्रम आयोजना गरी नमूना स्वास्थ्य संस्था प्रमाणीकरणको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा महेन्द्रझ्याडी सिन्धुली जिल्लाकै नमूना स्वास्थ्य संस्थामा छनोट भएको हो । एमएसएस मूल्यांकनमा महेन्द्रझ्याडी स्वास्थ्य चौकीले जिल्लाकै स्वास्थ्य संस्थाहरुमध्ये सबैभन्दा बढी ९० अंक प्राप्त गरेको कार्यक्रममा जानकारी दिइयो ।
जनस्वास्थ्य कार्यालय प्रमुख विमल पटेलले हरिहरपुर गाउँपालिकाका प्रमुख वज्रध्वज वाइबालाई प्रमाणपत्रसहित आवश्यक सामग्री हस्तान्तरण गर्नुभयो । त्यसअघि पटेलको नेतृत्वमा ९ वटा स्थानीय तहका शाखा प्रमुखहरुले स्वास्थ्य चौकीको अवलोकन गर्नुभएको थियो ।
कार्यक्रम हरिहरपुरगढी-४ का वडाध्यक्ष तथा महेन्द्रझ्याडी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार राईको अध्यक्षता गाउँपालिका अध्यक्ष वाइबाको प्रमुख आतिथ्यतामा भएको थियो ।
पालिका अध्यक्ष वाइबाले जनस्वास्थ्य कार्यालयको टिम र विभिन्न स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखहरुलाई स्वागत गर्न पाउँदा हर्षित भएको बताउनुभयो । उहाँले महेन्द्रझ्याडी स्वास्थ्य चौकी जिल्लाकै नमूनामा छनोट भएकोमा खुसी व्यक्त गुर्नुहुँदै यसलाई कायम राख्न चुनौती रहेको बताउनुभयो । यद्यपि, जस्तोसुकै चुनौतीलाई व्यवस्थापन गर्दै उत्कृष्ट सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धतासमेत अध्यक्ष वाइबाले जनाउनुभयो ।