सुनकोशी-मरिण डाइभर्सनको काम सुस्त बनेकोप्रति सांसद दाहालको चासो

सिन्धुली/प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’ले राष्ट्रिय गौरवको आयोजना सुनकोशी-मरिण डाइभर्सनको काम अघि बढ्न नसकेकोप्रति चासो व्यक्त गर्नुभएको छ । उहाँले आयोजना अन्तर्गत १३.३ किलोमिटरको टनेल ‘ब्रेक थ्रु’ भएको एक वर्ष बित्दा पनि काम सुस्त भएकोप्रति आपत्ति जनाउनुभयो ।
‘राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सन जसले तराई मधेसका एक लाख २२ हजार हेक्टर उब्जनीयोग्य जमिनलाई सिञ्चित गर्छ । साथै ३१.७ मेगावाट विद्युत् उत्पादन गरी वार्षिक १.५ खर्ब राजस्व उठ्छ,’ उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत भन्नुभयो, ‘जसको १३.३ किलोमिटरको टनेल ब्रेक थ्रु भएको एक वर्ष भयो । पटक-पटक मौखिक लिखित सरकारलाई दबाब दिँदा पनि बाँध निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन ।’
निर्माण कम्पनीले अहिलेसम्म ५६ प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २ प्रतिशत काम सम्पन्न गरेको तर भुक्तानी एक अर्ब ९७ करोड २२ लाख रुपैयाँ लगेको बताउनुभयो । कामको प्रगतिअनुसार दिनुपर्ने रकम ३२ करोड रुपैयाँमात्रै रहे पनि बढी भुक्तानी दिएको उहाँले उल्लेख गर्नुभयो ।
‘न निर्माण कम्पनीलाई कारबाही हुन्छ, न त भुक्तानी दिनेलाई,’ उहाँको भनाइ छ, ‘ठेक्का तोडेर समय अवधिभित्रै सम्पन्न गर्न इच्छुक निर्माण कम्पनीलाई ठेक्का दिँदा सरकारलाई के घाटा हुने रहेछ थाहा भएन । मुलुकलाई त अर्बौं नाफा हुन्छ ।’
उहाँले आजसम्मको बाँध निर्माणको भौतिक प्रगति २ प्रतिशतमात्र भएको प्रस्ट पार्नुहुँदै अस्थायी घर टहरा र प्लान्टलगायतका काम जोडेर ७ प्रतिशत भन्नु मनासिव नहुने बताउनुभएको छ ।