बागमती प्रदेश सरकारको बजेट सञ्चारमैत्री नभएको भन्दै संचार संगठनहरुको बिरोध

हेटौंडा/बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सार्वजनिक गरेको बजेट सञ्चारमैत्री नभएको भन्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति सहित पत्रकार संगठनले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघ प्रदेश समिति अध्यक्ष कृष्ण सारु मगर नेतृत्वमा गएको टोलीले बुधबार मुख्यमन्त्री बहादुरसिं लामा, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । सञ्चारमैत्री बजेट निर्माणको लागि पटक पटक ध्यानाकर्षण तथा पहल गरिएकोमा श्रमजिवी पत्रकार र सञ्चार क्षेत्रलाई निषेध गरेर बजेट ल्याएको भन्दै सञ्चार संगठनहरुले आपत्ति जनाएका छन् ।
सञ्चार क्षत्रेलाई निषेध गरी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरिए प्रदेश सरकारले गर्ने गतिविधिहरू सञ्चारमाध्यममा प्रकाशन/प्रशारण नगर्नेसम्मको संघर्षमा उत्रन बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् । ‘सञ्चारमाध्यमहरुले पाउँदै आएको लोककल्याणकारी बिज्ञापन बृद्धिको माग गरिएकोमा चालु आर्थिक वर्ष २०८१/८२ को भन्दा ८५ प्रतिशतले कटौती, पत्रकार संघ संगठनको प्रदेश समितिहरु मार्फत पत्रकार क्षमता विकास कार्यक्रम खारेज तथा श्रमजिवी पत्रकारको क्षमता विकास तथा हितका कार्यक्रमहरु कटौती गरिएकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रममा समेटिएको पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल, सञ्चार क्षेत्रको विकासको लागि कानूनी तथा कार्यक्रमगत प्रबन्ध तथा विज्ञापन अनुगमन तथा नियमनको लागि कानूनी प्रवन्ध मिलाउने नीति कार्यक्रम बजेटमा समावेश नभएको संचार संगठनहरुको ध्यानाकर्षणपत्रमा उल्लेख छ । ‘सञ्चार हेर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयले केही लाख रुपैयाँ तजबिजमा बाँड्न राखिएको रकम बाहेक सञ्चार क्षेत्रलाई बजेट शुन्य बनाइनु दुखद कुरा हो’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘लोकतन्त्रको अभिन्न अंग सञ्चार क्षेत्रलाई कमजोर बनाउनेगरी ल्याइएको बजेट संसोधन गरी सञ्चारमैत्री बजेट निर्माण गर्न हामी मुख्यमन्त्री बहादुरसिं लामा, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले सहित सम्बद्ध सबै प्रदेश सरकारकारका सरोकार पक्ष र बिपक्षी दलहरूसंग जोडदार माग गर्दछौं ।’
ध्यानाकर्षण पत्रमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर, नेपाल प्रेस युनियन बागमती प्रदेश समितिका उपाध्यक्ष सुजन बिडारी, प्रेस चौतारी नेपाल बागमती प्रदेश समितिका महासचिव प्रकाश दाहाल, प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिका अध्यक्ष ध्रुव अधिकारी, समाजवादी प्रेस संगठनका बरिष्ठ उपाध्यक्ष नवराज छत्कुली, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, सामुदायिक रेडियो प्रशारक संघ बागमती प्रदेश समितिका कोषाध्यक्ष दान बहादुर गुरुङ, स्वतन्त्र पत्रकार संघका उपमहासचिव सुरेश श्रेष्ठ, सञ्चारिका समुह बागमती प्रदेश समितिका महासचिव नानीमाया सापकोटा र राष्ट्रिय फोटो पत्रकार संघ बागमती प्रदेश समितिका सचिव कुमार श्रेष्ठले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन् ।