महादेव सामुदायिक वनका उपभोक्तालाई विभिन्न सामग्री वितरण (फोटो फिचर सहित)

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका(४ स्थित महादेव सामुदायिक वन उपभोक्ता समितिले विभिन्न सामग्री तथा अनुदान रकम वितरण गरेको छ । आज एक समारोहबीच डिभिजन वन कार्यालय मरिणका प्रमुख अजयविक्रम मानन्धरले उक्त सामुदायिक वनका उपभोक्ताहरुलाई विभिन्न सामग्री वितरण गर्नुभएको हो ।
समितिले उपभोक्तालाई प्रत्यक्ष लाभ दिने उद्देश्यका साथ खानेपानीको समस्या भएका १०६ जनालाई ५०० लिटरको ट्यांकी, १४४ जनालाई सुपानेट झुल, डस्टबिनलगायत सामग्री उपलब्ध गराएको छ ।
यसैगरी कागती, आँप, लिचीलगायत फलफूलका बिरुवा ६-६ वटा र उक्त बिरुवाका लागि ट्री गार्डसमेत वितरण गरिएको समितिका अध्यक्ष पूर्णबहादुर लामाले जानकारी दिनुभयो । समितिबाट छनोट भएका विपन्न तथा असहाय ६१ जना उपभोक्तालाई बाख्रा, बंगुर तथा राँगा पालनका लागि १२ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको छ । सोही अवसरमा समितिले वडा नम्बर ४ स्थित महेन्द्रझ्याडी माध्यमिक विद्यालयको गरिब, विपन्न तथा असाहय विद्यार्थी अक्षयकोषका लागि ४० हजार रुपैयाँ प्रदान गरेको छ ।
सब डिभिजन वन कार्यालय महेन्द्रझ्याडीलाई इन्भर्टर खरिदका लागिसमेत ४० हजार रुपैयाँ प्रदान गरिएको समितिले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डिभिजन वन कार्यालय मरिणका प्रमुख मानन्धरले अघिल्लो वर्ष केन्द्रबाटै पुरस्कृत र यो वर्ष जिल्लाकै उत्कृष्ट सामुदायिक वन उपभोक्ता समितिमा छनोट भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
धेरै सामुदायिक वनहरुले काम देखाउनका लागि मात्रै कागजी काम गर्ने गरेको उल्लेख गर्नुहुँदै उहाँले जनतालाई प्रत्यक्ष लाभ पुग्ने तथा न्यून आयस्तर उकास्नका लागि सहयोग हुने काम गरेकोमा प्रशंसा गर्नुभयो ।