मरिण गाउँपालिकाको नीति कार्यक्रम तथा बजेट सार्वजनिक

सिन्धुली/मरिण गाउँपालिकाको आर्थिक बर्ष २०८२/०८३ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ । मरिण गाउँपालिकाको दोस्रो गाउँ सभाको सातौं अधिवेशनको आज गाउँलिकाको सभाहलमा भएको पहिलो बैठकमा अध्यक्ष विमर्श मोक्तान प्रख्यातले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
शिक्षा क्षेत्रको विकासमा विशेष जोड दिने योजना सहित नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । `स्कुल हाम्रो, बनाउँ राम्रो´ नारा सहित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासको लागि मरिण गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी शिक्षकका छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउने, विद्यार्थी नियमति विद्यालय आउने वातावरण वनाउन प्रोत्साहन गर्ने लगायतको कार्यक्रम प्रस्तुत गरिएको छ ।
नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा काम गर्ने किसानका लागि विनाधितो दुई लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋण दिने, एक टोल एक सामुहिक उत्पादन, एक वडा एक उत्पादन कार्यक्रम अघि बढाउने, कृषि तथा माछापालन व्यवसायलाई प्राथमिकता दिईने उल्लेख छ ।
कषिलाई पर्यटनसंग जोडेर कृषि पर्यटनमा जोड दिइने अध्यक्ष मोक्तानद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा समृद्ध मरिण, सुखी मरिणबासीको नारालाई प्राथमिकता दिईने, आर्थिक समृद्धि, सुशासन र सेवा प्रबाहलाई प्राथमिकता दिइएको छ । मरिण गाउँपालिकाको प्रमुख पर्यटकिय गन्तव्यका रुपमा रहेको पञ्चकन्या पोखरीको संरक्षण तथा प्रचार प्रसार गर्ने, मधुवनीबाट प्याराग्लाइडीङ संचालन गर्ने, स्थानीय जातजाती तथा समुदायको परम्परागत संस्कृतीको संरक्षणमा विशेष योजना अघि बढााउने नीति लिईएको छ।
यसैविच मरिण गाउँपालिकाकी उपाध्यक्ष बिमला माझीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँपालिकाको बजेट सार्वजनिक गर्नु भएको छ ।
उपाध्यक्ष माझीले आगामी आर्थिक वर्षका लागि ७६ करोड १३ लाख ७८ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ ।
उहाँलेले यो चालु आर्थिक वर्षको तुलनामा झण्डै १३ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गर्नुनुभएको छ ।