हरिहरपुरगढीमा निर्माणाधीन आधारभूत विद्यालयको काम असार १५ भित्र सक्न अध्यक्ष वाइबाको निर्देशन

सिन्धुली/हरिहरपुरगढी गाउँपालिकाभित्र विभिन्न प्याकेजमा निर्माणाधीन आधारभूत विद्यालयहरुको काम सन्तोषजनक नदेखिएको भन्दै गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले ठेकेदारहरुलाई आगामी असार १५ भित्र जसरी पनि काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उक्त समयभित्र काम सम्पन्न नगरे बजेट फ्रिज भएर जानेतर्फ सचेत गराउनुहुँदै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारको विशेष अनुदानमा सातवटा आधारभूत विद्यालयको भवन निर्माण भइरहेको छ । चारवटा प्याकेजमा ठेक्का सम्झौता गरी निर्माण भइरहेका ती विद्यालयको निर्माण कार्य आर्थिक वर्ष सकिनै लाग्दासम्म निराशाजनक देखिएको छ ।

अध्यक्ष वाइबाले असार १५ भित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई गाउँपालिकाभित्रका कुनै पनि ठेक्कामा भाग लिनबाट वञ्चित गरिने चेतावनीसमेत दिनुभयो । ‘संघबाट आएको बजेट फ्रिज भएर जाने अवस्था नआओस् । त्यस्तो अवस्था आयो भने सम्बन्धित ठेकेदारको सबै भुक्तानी रोकिन्छ र अरु ठेक्कामा भाग लिन पनि पाउने छैन,’ उहाँले भन्नुभयो ।

संघबाट बजेट ल्याउन ठूलो संघर्ष गर्नुपर्ने र त्यसरी ल्याइएको बजेट फ्रिज भई फिर्ता जाने अवस्था आउनु दुर्भाग्य हुने उहाँको भनाइ छ । बाँकी काम असार १५ भित्र सक्नुको विकल्प नभएकोले सोहीअनुसार काम गर्न अध्यक्ष वाइबाले ठेकेदारहरुलाई निर्देशन दिनुभयो ।

कुन विद्यालयमा कति प्रगति ?

गाउँपालिकाका इञ्जिनियर बेञ्जामिन श्रेष्ठका अनुसार सातवटा विद्यालयको काम चारवटा प्याकेजमा ठेक्का लगाएर काम भइरहेको छ । प्याकेज ३ र ४ तर्फको प्रगति ८० प्रतिशतसम्म भएको पाइएको छ । यता प्याकेज १ र २ तर्फका आयोजनाको प्रगति भने २५ देखि ३५ प्रतिशतमै सीमित भएको पाइएको उहाँले बताउनुभयो ।

प्याकेज १ अन्तर्गत वडा नम्बर १ कोक्टीस्थित कालिका आधारभूत विद्यालय र चिसापानीस्थित जनज्योति आधारभूत विद्यालयको काम भइरहेको छ । इञ्जिनियर श्रेष्ठले दिनुभएको जानकारीअनुसार कालिका आधारभूत विद्यालयको काममा हालसम्म ३५ प्रतिशतमात्र प्रगति भएको छ । यस्तै जनज्योति आधारभूत विद्यालयको प्रगति २५ प्रतिशतमा सीमित छ ।

यो प्याकेजको काम गर्न सिकाक हुस्से निर्माण सेवा कम्पनीसँग आगामी असार १५ भित्र काम सक्ने गरी २०८१ मंसिर ७ गते सम्झौता गरिएको थियो । कूल ८९ लाख ८८ हजार ६२३ रुपैयाँमा दुवै विद्यालयको काम सम्पन्न गर्ने गरी सम्झौता भएकोमा हालसम्म २९ लाख ६३ हजार ८८८ रुपैयाँमात्र भुक्तानी भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी प्याकेज २ तर्फ वडा नम्बर ५ बसेरीस्थित जनप्रगति आधारभूत विद्यालय र वडा नम्बर ३ कुशदमारस्थित कुशेश्वर आधारभूत विद्यालयको निर्माणका कार्य चलिरहेको छ । तारा ग्रुप अफ कम्पनीले ठेक्का लिएको यो प्याकेजमा दुवै विद्यालयको प्रगति हालसम्म २५ प्रतिशत मात्र भएको पाइएको इञ्जिनियर श्रेष्ठले जानकारी दिनुभयो ।

यो प्याकेजको कूल बजेट ९० लाख ९५ हजार ५९७ रुपैयाँ हो । गत मंसिर ३ गते ठेक्का सम्झौता गरी कामको जिम्मा लिएको तारा ग्रुपले हालसम्म भुक्तानी नै नलिएको गाउँपालिकाले जनाएको छ ।

प्याकेज ३ अन्तर्गत वडा नम्बर ७ स्थित जनकल्याण आधारभूत विद्यालय र वडा नम्बर ८ जमुनियास्थित सरस्वती शिशु बाल आधारभूत विद्यालयको काम भइरहेको छ । इञ्जिनियर श्रेष्ठका अनुसार जनकल्याण आधारभूत विद्यालयको कार्यप्रगति ७० प्रतिशत र सरस्वती शिशुको ८० प्रतिशत भएको छ ।

प्याकेज ३ अन्तर्गतको कामका लागि सिकाक हुस्से र गरुण जेभीसँग गत मंसिर ७ गते सम्झौता भएको थियो । सम्झौताअनुसार ९३ लाख ५९ हजार २५ रुपैयाँमा यो प्याकेजको काम चालु आवभित्रै सम्पन्न गर्नुपर्ने छ । गाउँपालिकाका अनुसार यो प्याकेजतर्फ ठेकेदार कम्पनीले ४७ लाख ५० हजार ४८० रुपैयाँ भुक्तानी लिइसकेको छ ।

यसैगरी प्याकेज ४ अन्तर्गत वडा नम्बर १ मा रहेको जनजागृति आधारभूत विद्यालयको निर्माण कार्य चलिरहेको छ । उक्त विद्यालयको कार्यप्रगति हालसम्म ८० प्रतिशत भएको देखिन्छ । यो कार्यका लागि गत माघ १० गते ठेकेदारसँग सम्झौता भएको हो । जसको कूल बजेट ९२ लाख ४५ हजार ३५५ रुपैयाँ रहेको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार हालसम्म ठेकेदारले २९ लाख ६३ हजार ८८८ रुपैयाँ भुक्तानी लिएको छ । बाँकी काम असार १५ सम्ममा सकेर भुक्तानी लिइसक्नुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *