अस्पताल निर्माणमा ठेकेदारको चरम लापारवाही

सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ मा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माणमा ठेकेदारको चरम लापारवाही देखिएको छ । सम्झौताअनुसार गत वर्ष असोजमा सम्पन्न हुनुपर्ने अस्पतालको निर्माण कार्य नसकिएपछि आगामी भदौ मसान्तसम्म म्याद थप गरिएको थियो । उक्त म्याद सकिन करिब तीन महिना बाँकी हुँदा हालसम्मको प्रगति निराशाजनक देखिएको छ ।

आयोजनाले उपलब्ध गराएको विवरणअनुसार हालसम्म अस्पताल निर्माणमा भौतिक र आर्थिक दुवैतर्फको प्रगति ३० प्रतिशतमा सीमित देखिन्छ । बाँकी तीन महिना अर्थात् आगामी भदौ मसान्तसम्ममा बाँकी ७० प्रतिशत काम हुने कुनै सम्भावना नदेखिएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

ठेकेदार कम्पनीले एक बर्ष भन्दा बढी काम गरेका कामदारलाई ज्याला नदिएको स्थानीय चन्द्रबहादुर राईले गुनासो गर्नुभयो । ज्याला नदिएको कारण कामदारहरु काम गर्न जान मान्दैनन् । बाहिरबाट आएका कामदार पनि ज्याला नपाउने थाहा पाएपछि छोडेर जाने गरेको उहाँले बताउनुभयो । ठेकेदारले भने कामदारनै नपाएको कारण काम ढिलासुस्ती भएको बताउने गर्छन् ।

उक्त अस्पताल भवन निर्माणका लागि सिनर्जी–राजदेवी भक्त–आर.पी. जेभी, चन्द्रपुर रौतहटसँग २०७९ असोज ७ गते सम्झौता भएको थियो । ठेक्का सम्झौतामा सम्पन्न हुनुपर्ने मिति २०८१ असोज ६ रहेको हरिहरपुरगढी गाउँपालिकाका इन्जिनियर बेन्जामिन श्रेष्ठले जानकारी दिनुभयो । तर, उक्त समयभित्र ठेकेदारले काम नगरेपछि गत वर्ष २०८२ भदौ ३० गतेसम्मको म्याद थप गरिएको इन्जिनियर श्रेष्ठको भनाई छ ।

थपिएको सो समयमा पनि निर्माण व्यवसायीले गाउँपालिकालाई बुझाएको कार्यतालिका अनुसार काम नभई निकै ढिलासुुस्ती गरिएको उहाँले बताउनुभयो । यस्तै सुस्त गतिमा काम भए चालु आर्थिक बर्षमा बिनियोजित बजेट फ्रिज हुने देखिन्छ ।

अस्पताल निर्माणका लागि २१ करोड ८१ लाख ९० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । जसमध्ये हालसम्म ६ करोड ६५ लाख ७१ हजार रुपैयाँ ठेकेदारले भुक्तानी लिइसकेका छन् ।

चालु आर्थिक वर्ष २०८१÷८२ मा संघीय सरकार र गाउँपालिकाबाट गरी कूल ९ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन भई कार्यान्वयनमा रहेको छ । तर, ठेकेदारले काम नगरेका कारण उक्त बजेट फ्रिज हुने अवस्थामा पुगेको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षको बजेटबाट हालसम्म २ करोड ३६ लाख १६ हजार रुपैयाँको मात्र बिल पेस भएको देखिन्छ ।

चालु आर्थिक वर्षमा विनियोजित बजेटमा संघीय सरकारको ८ करोड ३१ लाख रुपैयाँ रहेको छ । यसैगरी हरिहरपुरगढी गाउँपालिकाले १ करोड रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाको बजेटमा ६३ लाख रुपैयाँ राजस्व बाँडफाँड–स्थानीय–नगद र ३७ लाख रुपैयाँ आन्तरिक स्रोततर्फको रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार अस्पतालको काम सम्पन्न गर्न अझै ८ करोड २१ लाख ३५ हजार रुपैयाँ बजेट अपुग रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *