निःशुल्क दाँत तथा आँखा शिविरबाट हरिहरपुरगढीका एक हजारभन्दा बढीले लिए लाभ

सिन्धुली/हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविरबाट एक हजारभन्दा बढी स्थानीयले लाभ लिनुभएको छ । यही वैशाख २३ देखि २५ गतेसम्म सञ्चालित शिविरमा एक हजार तीन जनाले आँखा तथा दाँतको सेवा लिनुभएको हो ।
यसरी सेवा लिनेमा ५५६ जना आँखा र ४४७ जना दाँतका बिरामी हुनुहुन्थ्यो । आँखाका बिरामीमध्ये ६५ जनाको शल्यक्रिया गरिएको थियो । आँखामा मोतियाबिन्दु भएका उनीहरुको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डा. दिवा हमाल लामिछाने नेतृत्वको टिमले शल्यक्रिया गरेको हो । यस क्रममा शल्यक्रियासहित आवश्यक औषधि र चश्मालगायत सामग्री निःशुल्क वितरण गरिएको थियो । शिविरमा १० वर्षदेखि १०० वर्षसम्मका नागरिकको आँखा परीक्षण गरिएको थियो ।
जन्मेदेखि नै दुवै आँखा नदेखेका तथा एउटा आँखा कम देख्नाले दैनिकी नै असहज भएका बिरामीहरु शल्यक्रियापश्चात् राम्रोसँग आँखा देख्ने हुनुभएको छ । आँखाको ज्योति खुलेपछि उहाँहरु दंग पर्नुभएको छ । आर्थिक अभावका कारण विशेषज्ञ डाक्टर भएको अस्पतालसम्म पुग्न नसकी अँध्यारोमै जीवन बिताइराख्नुभएका बिरामीहरुले गाउँमै आँखाको शल्यक्रिया गर्न पाएपछि खुसी व्यक्त गर्नुभयो । हरिहरपुरगढी गाउँपालिकाले घरआँगनमा नै उपचार सेवा दिएर नयाँ जीवन दिएको भन्दै उहाँहरुले आभार प्रकट गर्नुभयो ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डा. लामिछानेले २०५४ सालबाट ग्रामीण बस्तीलगायत विकट क्षेत्रमा शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले नागरिकलाई सहज वातावरणमा सेवा प्रदान गर्न स्थानीय जनप्रनिधिले लिएको अग्रसरताको प्रशंसासमेत गर्नुभयो । शिविर व्यवस्थापन र बिरामीको सेवामा गाउँपालिका अध्यक्षसहितको टिमले गरेको काम उदाहरणीय भएको उहाँको भनाइ थियो ।
हरिहरपुगढी गाउँपालिकाको आर्थिक सहयोगमा ओम चाबहिल डेण्टल हस्पिटल र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा दाँत तथा आँखाको संयुक्त शिविर आयोजना गरिएको हो ।
शिविरको उद्घाटन वैशाख २३ गते गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गर्नुभएको थियो । उहाँले पालिकाबासीलाई आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य पु¥याउने अभियानअन्तर्गत निःशुल्क दाँत तथा आँखा शिविर आयोजना गरिएको बताउनुभयो । शिविरमा सहकार्य गरेका दुई संस्था ओम चाबहिल डेण्टल हस्पिटल र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका साथै शिविरमा खटिनुभएका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवकलगायतलाई अध्यक्ष वाइबाले धन्यवाद ज्ञापन गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *