वडा नं.४ का चौध घर दलित परिवारलाई पानीट्यांकी वितरण

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ४ ले वडामा रहेका विपन्न दलित परिवारलाई निःशुल्क पानीट्याङ्की वितरण गरेको छ ।
वडा नम्वर ४ मा रहेका १४ घर विपन्न दलित परिवारलाई निःशुल्क एक हजार लिटरको पानीट्याङ्की वितरण गरिएको हो । चालु आर्थिक वर्ष २०८१/८२ को दलित शीर्षकमा विनियोजित २ लाख बजेट अन्तरगत वडाका विपन्न दलित परिवारलाई ट्याङ्की वितरण गरिएको वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले बताउनु भयो । ट्याङ्की वितरण पश्चात ढकालले मानिसलाई मात्र नभएर पशुचौपाया लगायत सम्पूर्ण सजिवहरु पानीबिना बाँच्न नसक्ने भएकाले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
पानीट्यांकीको सुविधा भएपछि त्यसमा पानी जम्मा गरेर आफ्नो दैनिकी सहज बनाउन सहज हुने वहाँको भनाइ छ । ट्यांकी पाएका परिवारले सामानको सदुपयोग गरेका छन् या छैनन् भनेर केहि दिनपछि अनुगमन गरिने वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले बताउनुभयो । पानीट्यांकी भएपछि ट्यांकीमा जम्मा भएको पानीले केहि दिनसम्म आफ्नो दैनिकी चलाउन सजिलो हुने सेवाग्राहीले बताएका छन् ।