वाइसियल हरिहरपुरगढीको नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा गुण मगर

सिन्धुली नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसियल) नेपाल हरिहरपुरगढीको अध्यक्षमा गुण मगर सर्वसम्मत चयन भएका छन् ।
आज सम्पन्न दोस्रो सम्मेलनबाट मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा नेत्र बज्यु, मानध्वज बम्जन र योगिता बम्जन, सचिवमा मिलन सिञ्चुरी, सहसचिवमा दीपेन्द्र घिमिरे, दीपेश पाख्रिन र सुरेश योञ्जन तथा कोषाध्यक्षमा अनमेश राई चयन भएका छन् । नयाँ कार्यसमिति ४५ सदस्यीय रहेको छ ।
सम्मेलनको उद्घाटन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इञ्चार्ज बसन्त माझीले गर्नुभएको थियो । सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि माझीले हरिहरपुरगढीको गाउँ, टोल, वडावडामा उदाहरणीय विकासका काम भएको बताउनुभयो ।
उहाँले गाउँपालिकाका जनप्रतिनिधिले गरेको विकासको कामलाई जनतामा पुर्याउने काम वाइसियलले गर्नुपर्नेमा जोड दिनुभयो । आगामी निर्वाचनमा एकताबद्ध भएर हरिहरपुरगढीको आठवटै वडामा माओवादी केन्द्रको एकलौटी जित सुनिश्चित गर्नका लागि भोलिबाटै जागरण अभियान सुरु गर्न उहाँले वाइसिएललाई आग्रह गर्नुभयो ।
माओवादी केन्द्र सिन्धुलीका संयोजक पानीराज बम्जनले राजनीतिमा एक अर्काको अस्तित्व स्वीकार्न सकेमात्रै एकताबद्ध हुने बताउनुभयो । उहाँले एकताबद्ध भएर अर्को चुनावमा पार्टीलाई नम्बर १ बनाउनका लागि वाइसियलको ठूलो भूमिका रहने बताउनुभयो ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष तथा माओवादी केन्द्र बागमती प्रदेश समितिका सदस्य बज्रध्वज वाइबाले वाइसिएललाई थप क्रियाशील बनाउनुपर्ने बताउनुभयो । उहाँले अधिवेशनको समयमा मात्रै तँछाडमछाड गरेर पद रोज्ने तर अन्य समयमा निष्क्रिय रहने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
वाइसियल पार्टीको जिम्मेवार संस्था रहेकोले निष्क्रिय रहन नसुहाउने उहाँले बताउनुभयो । अध्यक्ष वाइबाले वाइसियलको सिद्धान्त नारामा मात्रै नभएर व्यवहारमा पनि लागू गर्न आग्रह गर्नुभयो । हरेक क्रियाकलाप, अध्ययन, सुशासन, अनियमितताजस्ता कुरामा वाइसियल चनाखो रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य बाबुराम राई, माओवादी केन्द्र हरिहरपुरगढी गाउँ कमिटीका अध्यक्ष अजित ठाडा मगर, उपाध्यक्ष अनिता राई, बिचबहादुर मोक्तान, सचिव मोहनकाजी विश्वकर्मा, सहसचिव धनबहादुर मोक्तान, कोषाध्यक्ष रमेश घलान, जिल्ला कमिटी सदस्य कमलकुमार राईलगायतको उपस्थिति रहेको थियो ।