हरिहरपुरगढीमा लैङ्गिक हिंसा सम्बन्धि अन्तर्क्रिया

सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा पालिकास्तरीय लैङ्गिक हिंसा सम्बन्धि अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।
एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सिन्धुली र सुनौलो नेपालको आयोजनामा लैङ्गिक हिंसा बिषयमा सूचना, शिक्षा तथा सशक्तिकरण सम्बन्धि अन्तर्क्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले लैङ्गिक हिंसा न्युनिकरणको निम्ति यस्ता कार्यक्रम विद्यालयका शिक्षक, विद्यार्थी, स्वयमसेविकाहरु, स्वास्थ्यकर्मी तथा वडा स्तरका सम्पूर्णलाई प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । आगामी वर्ष बजेट राखेरै गाउँपालिकाले यो कार्यक्रम गर्ने वाइबाको भनाई छ ।
कार्यक्रमको सहजीकरण एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सिन्धुलीका सहजकर्ता सुनिता शर्माले गर्नुभएको थियो । कार्यक्रममा ओसिएमसीको परिचय, कार्य, यसबाट प्रवाह गरिने सेवाहरु, सन्चालन विधि, उद्देश्य, हिंसाको प्रकार, हिंसा हुनुको प्रमुख कारणहरु तथा हिंसालाई कम गर्न सकिने उपायहरुको बिषयमा प्रष्ट्याइएको थियो ।
गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षता भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा लगायत शाखागत कर्मचारीहरुको उपस्थिति रहेको थियो । लैंगिक हिंसा न्युनिकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सँस्थाहरुले वर्षेनी निकै बजेट खर्चेर कार्यक्रमहरु गरिरहेका छन् । तथापि बजेट खर्च अनुसारको उपलव्धि भने पाउन नसकिएका आरोपहरु पनि लागिरहेका छन् । थोरै कार्यक्रम गर्नु तर प्रभावकारी देखियोस् भन्ने सुझावहरु पछिल्ला समयमा आइरहका छन् ।