कांग्रेस–एमालेको सरकार बनेपछि बहुवर्षीय ठेक्का लगाउने योजना अधुरै : सांसद दाहाल

सिन्धुली/प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’ले सरकार परिवर्तनका कारण सिन्धुलीका विभिन्न सडकलाई बहुवर्षीय योजनामा लैजान नसकेको बताउनुभएको छ । मंगलबार हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षतामा भएको मझिनी दमार–बखफर सडक शिलान्यास गर्न आयोजित समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले बजेट बनाए पनि कार्यान्वयन गर्ने बेला कांग्रेस–एमालेको सरकार बनेपछि स्रोत सहमति नदिँदा बहुवर्षीय ठेक्कामा लैजाने योजना अधुरो बनेको उहाँको भनाइ छ ।
‘विभिन्न खण्डमा बजेट विनियोजन गरेपछि यसैलाई बहुवर्षीय ठेक्कामा लैजाने उद्देश्य थियो । मझिनी दमार–बखफर सडक अन्तर्गतको २ नम्बर वडालाई एउटा, साहान भालुमारा खण्ड, साहानदेखि खयरसाल, मझिनीदमार–बढिमहन र बढीमहनबाट मझिनी दमार एउटा गरेर पाँच खण्डमा बजेट विनियोजन गरिएको थियो,’ उहाँले भन्नुभयो, ‘सुरुमा बजेट शीर्षक स्थापित गर्ने र असोजपछि ठेक्का लगाउँदा बहुवर्षीय बनाउनुपर्ने हुन्छ । बजेट हामीले निर्माण ग¥यौं, बजेट शीर्षक स्थापित ग¥यौं त्यसपछि हाम्रो सरकार ढल्यो । यो सरकार आइसकेपछि हामीले बहुवर्षीय ठेक्का लगाउन सकेनौं ।’
माओवादीको सरकार ढलेकै कारण मझिनी दमार–बखफर सडक पनि एक करोडमा सीमित गरेर ठेक्का लगाउनुपरेको उहाँले बताउनुभयो । ‘यसलाई पनि बहुवर्षीय ठेक्कामा लैजाने योजना थियो तर अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेन । स्रोत सहमति नदिएपछि एक करोडको ठेक्का लगाउनुपर्ने परिस्थिति बन्यो,’ सांसद दाहालको भनाइ छ ।
उहाँले आफू नि निर्वाचित भएपछि हाकपारा बखफर हुँदै बखफर कर्मैया बागमती सडक ४२ करोडमा बहुवर्षीय ठेक्का लगाइएको स्मरण गर्नुभयो । सांसद दाहालले बागमती प्रदेशका मुख्यमन्त्री र प्रदेश सांसदकै कम्पनीले लिएको ठेक्का पाँच वर्षदेखि अलपत्र बनेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । ‘हाकपारामा पक्की पुल निर्माणको ठेक्का लगाएको पाँच वर्ष भयो । अहिलेसम्म बन्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘पटक–पटक काम सक्न दबाब दिइरहेको छु, काम नगरे ठेक्का तोड्न आयोजना प्रमुखलाई भनेको छु ।’
‘प्रदेशको मुख्यमन्त्री र प्रदेश सांसदको ठेक्का हो यो, पाँच वर्षदेखि अलपत्र छ । निर्माण कम्पनी खराब भएपछि कस्तो हुन्छ भन्ने परिणाम हामीले यहाँ देख्यौं,’ उहाँले थप्नुभयो, ‘जिम्मेवार नेतृत्वबाटै यस्तो काम भएपछि मुलुकमा कसरी सुशासन कायम हुन्छ ?’
उहाँले गुणस्तरीय काम र समयमा काम भए नभएकोबारे सबैले निगरानी गर्नुपर्नेमा पनि जोड दिनुभयो । यहाँको खानेपानी र सिँचाइको समस्यालाई सम्बोधन गर्ने योजना बनाउन आग्रह गर्नुहुँदै सांसद दाहालले बजेट व्यवस्थापन गरिदिने प्रतिबद्धता जनाउनुभयो ।
वडा नम्बर ४ स्थित चाइचुट्टिमा भएको सडक शिलान्यास कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले अथक प्रयास पश्चात गाउँपालिकाकै भौगोलिक जटिलताले पिछडिएको ठाउँमा ड्रेन सहित सडक ढलानको लागि बजेट विनियोजन गराउन सफल भएको भन्दै खुसी ब्यक्त गर्नुभयो । उहाँले चाइचुट्टिमा सिँचाईको लागि योजना निर्माण भइरहेको बताउनुहुँदै चाँडैनै यहाँका किसानलाई सिँचाईको लागि पानी उपलब्ध गराइने बताउनुभयो ।
सडक निर्माणको लागि संघिय सरकारबाट बिनियोजित १ करोड बजेट रहेको छ । स्थानिय पुर्वाधार विकास आयोजना कार्यालय हेटौडाको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा शिलान्यास कार्यक्रमको आयोजना भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *