सिन्धुलीको भिमानबाट ६५ लाख बराबरको सुन नियन्त्रणमा

सिन्धुली/सिन्धुलीको भिमानबाट प्रहरीले करिब ६५ लाख रुपैयाँ मूल्य बराबरको सुनका विभिन्न गरगहना नियन्त्रणमा लिएको छ । सोमबार भिमान चेकपोस्टबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले बर्दिवासबाट काठमाडौंतर्फ आउँदै गरेको गाडीमा सवार यात्रुबाट उक्त सुन र गरगहना बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार बिहान १० बजे चेकजाँच गर्ने क्रममा बा ४ ख ५५४० नम्बरको फोर्स गाडीमा सवार विक्रम साहको साथबाट ती सामग्री नियन्त्रणमा लिइएको हो । पर्सा जिल्लाको पोखरिया नगरपालिका–८, जगतपुरका ४८ वर्षीय साहले कपडाभित्र टेपले बेरी चारवटा प्याकेटमा लुकाइछिपाइ ल्याउँदै गरेको पाइएको प्रहरीले जनाएको छ । ती पहेँलो धातु र गरगहनाको बिल विजक नभेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
बरामद गरिएको सामग्रीमा काँचो सुनजस्तो देखिने बिस्कुट आकारका टुक्रा दुई थान रहेको जानकारी दिइयो । जसको तौल ४१.३५ तोला रहेको उक्त धातुको मूल्य ६४ लाख ६१ हजार ९८२ रुपैयाँ पर्ने प्रहरीले उल्लेख गरेको छ ।
यसैगरी औँठी ७३ थान, मंगलसुत्र पाँच थान, झुम्का÷टप छ थान, बाला एक थान, नेकलेस एक थान, हिराजस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो–सानो पोकामा १२ थान, भिभो मोबाइल एक थान तथा नगद १९ हजार रुपैयाँसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस प्रकरणमा पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *