हरिहरपुरगढीमा आयोजित दुई दिने निःशुल्क आँखा शिविरमा ५ सयभन्दा बढीले लिए सेवा
सिन्धुली/हरिहरपुरगढी गाउँपालिका–३ तीनकुनास्थित भानुभक्त माविमा दुई दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बुधबार र बिहीबार सञ्चालन गरिएको शिविरमा ५२६ जनाले सेवा लिएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाको समन्वय र कारितास नेपालको आयोजनामा भएको शिविरको बुधबार गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले उद्घाटन गर्नुभएको थियो । सो क्रममा उहाँले विकट क्षेत्रका स्थानीय उपचारका लागि अस्पतालसम्म जान नसक्ने अवस्थालाई मध्यनजर गरी गाउँमै निःशुल्क शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य सेवा सुलभ बनाउने चुनावी प्रतिबद्धता अनुसार काम गरिरहेको र आँखा शिविर त्यसमध्येकै एक कार्यक्रम भएको बताउनुभयो ।
कारितास नेपालका सामाजिक परिचालक नेत्र बज्युका अनुसार शिविरमा आँखा जाँच गराएकामध्ये ५७ जनामा मोतियाबिन्दु देखिएको जानकारी दिनुभयो । शिविरमा १५६ जनालाई निःशुल्क चश्मा र ३०० जनालाई औषधि वितरण गरिएको छ । शिविरमा गाउँपालिकाभरिबाट ४० देखि ८० वर्ष उमेर समूहका स्थानीयहरुले सेवा लिएको पनि उहाँले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराले मोतियाबिन्दु भएर वर्षौंदेखि उपचार नपाएकाहरुले शिविरबाट लाभ लिएको बताउनुयो । उहाँले आँखालगायत अन्य स्वास्थ्य सेवाको विस्तारमा गाउँपालिकाले काम गरिरहेको जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा गाउँपालिकाका जिन्सी शाखा प्रमुख दिपक कार्कीलगायत उपस्थित रहनुभएको थियो ।