• असोज १९, सिन्धुली/प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ दाहाल (राजन) ले चेतनाको हिसाबले सबैभन्दा उन्नत चेतना शिक्षकसँग हुने बताउनुभएको छ ।

    शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीको छैटौं जिल्ला सम्मेलन तथा प्रथम जिल्ला परिषद्लाई सम्बोधन गर्दै दाहालले चेतनाको हिसाबले सबैभन्दा उन्नत चेतना शिक्षकसँग हुने बताउनुभएको हो । विचार निर्माण र विचार सम्प्रेषणकै जगमा पार्टी निर्माण हुन्छ । पार्टी बलियो बनाउन विचार निर्माण गर्नुपर्यो । जुन विचार निर्माणमा शिक्षकले उल्लेख्य भूमिका निर्वाह गर्दछ । विचार पनि जनताको अपेक्षा र राष्ट्रिय आवश्यकतालाई प्रतिनिधित्व गर्ने विचार निर्माण गर्नुपर्छ,” दाहालले भन्नुभयो ।

    सिन्धुली जिल्लाका अग्रज शिक्षकहरु जसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको निम्ति साहदत प्राप्त उल्लेख गर्दै दाहालले सहिद शिक्षकहरुको आदर्शकै जगमा संगठन विस्तार भएको बताउनुभयो । “शिक्षक संगठन,बुद्धिजीवी संगठन र कर्मचारी संगठन भनेको पार्टीको वैचारिक नेतृत्व प्रदान गर्ने संगठन हुन् । जसलाई जनताले पत्याउँछ, उसको कुरा जनताले सुन्छ । शिक्षकलाई विद्यार्थी, अभिभावकले पत्याउँछ । शिक्षकबाट उनीहरुमा आसा, भरोसा र विश्वास राखेका हुन्छन् । शिक्षक भनेको जग हो, आधार हो,” दाहालले थप्नुभयो ।

    शिक्षक संगठन बलियो भएको ठाउँमा पार्टी बलियो हुनेमा जोड दिनुहुँदै सांसद दाहालले पार्टी निर्माणको पहिलो आधार नै शिक्षक संगठन रहेको धारणा राख्नुभयो । जसले सत्यको अन्वेषण गर्छ, सत्यको अनुसन्धान गर्छ र सत्यलाई स्थापित गदैँ जीवनयापन गर्छ ऊ मात्रै शिक्षक हुनसक्ने उहाँले बताउनुभयो ।

    कार्यक्रममा बागमती प्रदेश सांसद तथा माओवादी केन्द्र बागमती प्रदेशकी सदस्य शुष्पा भुजेलले नेपालका अधिकांश एजेण्डा माओवादीले ल्याएको दाबी गर्नुभयो । संगठनका सदस्यहरु पनि जवाफदेही र जिम्मेवार बन्न जरुरी रहेको वहाँको भनाई छ । ।

    सामुदायिक विद्यालयको पुस्तकको पाठ्यक्रम आफैंमा नै विवादित भएकोले परिमार्जनका लागि पहल गर्न संघीय सांसदसमक्ष भुजेलले ध्यानाकर्षण गराउनुभयो । “विद्यालयको भवन विकसित मुलुकमाभन्दा नेपालमा नै सुन्दर छन् । भौतिक संरचनादेखि सेवा सुविधामा लगभग नेपालमा नै राम्रा छन् । तर शैक्षिक नतिजा हेर्दा हाम्रोमा असाध्यै कमजोर छ,” भुजेलले भन्नुभयो । अब नतिजा पनि उत्कृष्ट हासिल गर्न सबैले प्रयत्न गर्नुपर्नेमा भुजेलले जोड दिनुभयो ।

    एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ’शिक्षक जागरण’ पुस्तकको वार्षिक मुखपत्र सातौ अङ्क विमोचन गरिएको थियो । कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका संस्थापक शिक्षक, सेवा निवृत शिक्षकहरुलाई सम्मान गरिएको थियो । त्यस्तै दशैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना समेत आदान प्रदान गरिएको छ ।