सिन्धुली बहुमुखी क्याम्पसले जित्यो एसएमसी कपको उपाधि

असोज १५,सिन्धुली/प्रथम नगर स्तरिय अन्तर क्याम्पस छात्रा भलिबल प्रतियोगिता ‘एसएमसी कप’को उपाधि सिन्धुली बहुमुखी क्याम्पसले जितेको छ । विजयादशमी,दिपावली तथा छठ पर्वको अवसर पारेर सिन्धुली बहुमुखी क्याम्पस (एसएमसी ) सिन्धुलीले आफ्नै ग्राउण्डमा छात्रा भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो ।

बेष्ट अफ फाइभको खेलमा सिन्धुली बहुमुखी क्याम्पसले कमला मावि ढुङ्ग्रेसबास लाई लगातार तीन सेटमा हराएको थियो । पहिलो सेटमा २५/१५, दोस्रो सेटमा २५/९ र तेस्रो सेटमा २५/१३ अंक बनाउँदै सिन्धुली बहुमुखी क्याम्पस प्रथम भएको थियो भने कमला मावि ढुङ्ग्रेसबासले दोस्रो स्थानमा चित्त बुझाएको छ । त्यस्तै गौमती बहुमुखी क्याम्पस बाढीबजारले तस्रो स्थान हासिल गरेको आयोजकले जनाएको छ ।

सेमिफाइलमा सिन्धुली बहुमुखी क्याम्पसले गौमती बहुमुखी क्याम्पस बाढीबजारलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने कमला मावि ढुङ्ग्रेबासले सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट रातमाटालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
बिजेतालाई १५ हजार नगद,शिल्ड,मेडल र प्रमाणपत्र, दोस्रोलाई १० हजार नगद, शिल्ड,मेडल र प्रमाणपत्र र तेस्रोलाई ५ हजार नगद, शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक तथा सन्धुली बहुमुखी क्याम्पस (एसएमसी ) सिन्धुलीका क्याम्पस प्रमुख भानुभक्त गुरुङले जानकारी दिनुभयो । साथै बेष्ट प्लेयरको उपाधि सिन्धुली बहुमुखी क्याम्पसकी छात्रा प्रजुना थापाले प्राप्त गर्नुभएको छ ।

प्रथम नगर स्तरिय अन्तर क्याम्पस छात्रा भलिबल प्रतियोगिता असोज १३ गते कमलामाई नगरपालिकाका प्रमुख तथा सिन्धुली बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र कुमार पोख्रेलले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा कमलामाई नगरपालिकाका ९ वटा क्याम्पसको सहभागिता रहेको क्याम्पस प्रमुख गुरुङले बताउनुभयो ।