• असोज १४,सिन्धुली/बागमती खोलाले हरिहरपुरगढी गाउँपालिकाका ३५ घरगोठमा क्षति गर्नुको साथै सयौँ खेतियोग्य जमिन कटान गरेको छ । गत बिहिबार रातिबाट लगातार ३ दिन सम्म परेको अविरल बर्षापछि बागमती खोलामा आएको बाढीले हरिहरपुरगढी गाउँपालिका –३ को साँढे बगैचामा ३५ घरगोठमा क्षति पु¥याएको जनाइएको छ ।


    जसमध्ये नौ घरमा पुर्ण रुपमा क्षति पुगेको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले जानकारी दिनुभयो । घरमा क्षति पुगेपछि मानिसहरुलाई सोहि स्थानको सुरक्षित ठाउँमा सारिएको छ ।
    गाउँपालिकाले सोहि दिननै पिडितहरुलाई सुरक्षित स्थानमा सारेर अत्यावश्यक सामाग्री प्रदान गरेको थियो । बाढीले घरमा पालेको राँगा,गाई,भैसि गोरु लगायतका सयौँको संख्यामा पशु चौपाय बगाएको थियो ।
    बाढीले गाउँपालिकाको वडा नम्बर १,२ र ३ मा खेतियोग्य जमिन कटान गरेको छ । करिब ४६५ हेक्टर जमिन खोलाले कटान गरेको पालिका अध्यक्ष वाइबाले बताउनुभयो ।


    वाइबाका अनुसार भर्खर पसाएको धान खोलाले कटान गर्दा लगभग २ करोड ४ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । “ पालिकाको धान उत्पादन हुने मुख्य स्थानहरुनै बाढीले कटान गरेको छ । ३ वटा वडाको गरी करिब ४६५ हेक्टर जमिन खोलाले कटान गरेको छ । भर्खर पसाएको धान बाढीले जमिनसँगै कटान गरेपछि स्थानीय दुखी भएका छन् । ” अध्यक्ष वाइबाले भन्नुभयो ।
    बाढीले हरिहरपुरगढी गाउँपालिकामा मानविय क्षति भने भएको छैन ।