• भदौ २६, सिन्धुली/गोलन्जोर गाउँपालिकामा दुई दिने नि:शुल्क बृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । भदौ २८ र २९ गते विशेषज्ञ सेवासहितको निशुल्क बृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालन हुने गोलन्जोर गाउँपालिकाले सुचना मार्फत जानकारी दिएको छ ।

    भौगोलिक विकटता तथा जनताकोे स्वास्थ्यलाई ध्यानमा राखेर गोलन्जोर गाउँपालिका –३ ग्वाल्टारमा स्वास्थ्य शिविर सन्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निजामती कर्मचारी अस्पताल काठमाडौँ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयुक्त सहयोगमा शिविर सन्चालन हुने छ ।

    शिविरमा गोलन्जोर गाउँपालिकाको व्यवस्थापन र नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको समन्वयमा सिन्धुली सहित रामेछाप र ओखलढुंगा जिल्लाका सेवाग्राहीले समेत सेवा लिने छन् । दुई दिन सन्चालन हुने शिविरमा विशेष गरी विशेषज्ञ चिकित्सकद्वारा हाडजोर्नी तथा नशा रोग, जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, जनरल सर्जरी, मनोरोग सेवा, बाल रोग, फेमिली मेडिसिन, फिजियोथेरापी र इ.सी.जी. सेवा प्रदान गरिने गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले जानकारी दिनुभयो ।

    भिडियो एक्स–रे, औषधी वितरण (फार्मेसी सेवा), रगत परीक्षण (ल्याब सेवा) साधारण शल्यक्रिया सेवा धेरै रोगहरूको उपचार हुनेछ । अध्यक्ष बरालले शिविरमा सम्पुर्णलाई जाँच गर्न आग्रह गर्नुभएको छ । शिविर भदौ २८ र २९ गते बिहान ८ बजेबाट ४ बजेसम्म सञ्चालन हुनेछ ।