• राज्यको ढुकुटी रित्याएर प्रतिष्ठानलाई पार्टी कार्यालय बनाउनेहरुलाई हिसाब किताव खोज्ने नैतिक अधिकार छैन ।

    भदौ ७, सिन्धुली/नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन ) ले सिन्धुलीमा पार्टी कार्यालय भवन निर्माणको लागि संकलन गरिएको रकम पारदर्शी भएको बताउनुभएको छ ।

    तत्कालीन सिन्धुली जिल्ला इन्चार्ज समेत रहनुभएका दाहालले स्वेच्छिक रुपमा रकम संकलन गरि जग्गा खरिद तथा ठेक्का प्रक्रियाबाट पार्टी कार्यालय भवन निर्माण गरिएको प्रष्ट पार्नुभयो । जग्गा खरिद र भवन निर्माण पश्चात बचत भएको करिब ४५ लाख रुपैयाँ रकम जनसेवा फाउण्डेशन नामक सँस्था स्थापना गरि फिक्स टिपोजिटमा राखिएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

    भवन निर्माणको लागि संकलित रकम र खर्चको पारदर्शीताबारे प्रश्न उठेपछि दाहालको सचिवालयले यस्तो प्रष्टिकरण दिएको हो । विभिन्न संचारमाध्यम मार्फत जनतामा भ्रम छर्ने काम भएको प्रति दाहालको सचिवालयले आपति जनाएको छ । त्यस्ता भ्रमपूर्ण समाचारको पछि नलाग्न पनि सचिवालयले अनुरोध गरेको छ । दाहालको नेतृत्वमा कमलामाई नगरपालिका –६ मा १२ धुर जग्गा पार्टीको नाममा खरिद गरी कार्यालय भवन निर्माण गरिएको थियो ।

    “ कमरेड राजन दाहालले तत्कालीन समयका पार्टीका नेतृत्वहरुसित परामर्श गरि जग्गा खरिद गरि पार्टी कार्यालय भवन निर्माण अभियानको सुरुवात गर्नु भएको हो । सहयोगको लागि पार्टीको नेता कार्यकर्ता , समर्थक शुभेच्छुक कसैलाई पनि वाध्यकारी बनाइएको थिएन, छैन । ” दाहालको सचिवालयले सामाजिक सन्जाल मार्फत दिइएको जानकारीमा भनिएको छ, “ सार्वजनिक अपिल गरेर सुरुवात गरेको कार्य भएकोले उक्त अभियानमा स्वेच्छिक सहयोग, स्वेच्छिक सहभगिता रहेको छ ।”

    जग्गा खरिद तथा भवन निर्माणको लागि संकलन गरिएको रकम बैकिङ प्रणाली मार्फत कारोबार गरिएको जानकारी दिइएको छ । साथै सहयोगीदाताहरुको नामावली शिलालेखमा राखिएको समेत दाहालको सचिवालयले जनाएको छ । “ कुनै प्रतिष्ठानको नाममा राज्यको ढुकुटीबाट करोडौँ बिनयोजन गर्ने, भवन निर्माणको नाममा भ्रष्टाचार गर्ने अनि प्रतिष्ठानलाई नै पार्टी कार्यालय बनाएर सञ्चालन गर्ने पार्टी र पात्रहरूले उल्टो जनताको स्वेच्छिक सहयोग र राजन दाहलको कुशल नेतृत्वमा सम्पन्न भएको पार्टी कार्यालयको बारेमा प्रश्न उठाउने कुनै नैतिक अधिकार छैन । स्वेच्छिक सहयोग गर्नेहरूले मात्र हिसाव कितावको बारेमा चासो राख्दा उचित हुनेछ” दाहालको सचिवालयले प्रष्ट्याएको छ ।

    सचिवालयका अनुसार बचत भएको ४५ लाख रुपैयाँबाट आउने ब्याज जनसेवा फाउण्डेशन मार्फत सामाजिक कार्यमा खर्च गरिँदै आएको छ । उक्त रकम गरिब, दु:खी, विपन्न तथा गम्भिर प्रकृतिका रोगिहरुलाई उपचारको लागि सहयोग गरिँदै आएको बताइएकाे छ ।