• साउन ११, सिन्धुली/जिल्ला प्रशासन कार्यालय सिन्धुलीले गत आर्थिक वर्ष २०८०/८१ मा राहदानी सिफारिसको राजस्वबापत झण्डै पाँच करोड रुपैयाँ आम्दानी गरेको छ । कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार उक्त आवमा ४ करोड ९१ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो ।

    कार्यालयबाट गत आवमा ९ हजार १९२ वटा पासपोर्टको सिफारिस गर्दा उक्त राजस्व संकलन भएको विवरणमा उल्लेख छ । सिफारिस गरिएकामध्ये ९ हजार १७० वटा साधारण र २२ वटा द्रुत सिफारिस रहेको कार्यालयले जनाएको छ । साधारण सिफारिस लिनेमा ६ हजार ६२ जना पुरुष र ३ हजार २२ जना महिला छन् भने ८६ वटा सिफारिस नाबालकका लागि लिइएको छ । यस्तै द्रुत सिफारिस लिनेमा २ जना मात्र पुरुष छन् भने बाँकी २० वटा सिफारिस नाबालकका लागि रहेको तथ्यांकमा उल्लेख छ ।

    उक्त अवधिमा ९ हजार ५४९ वटा राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ । जसमा ६ हजार ७९० पुरुष र २ हजार ७०१ महिला तथा ५८ नाबालक रहेका छन् ।

    गत आर्थिक वर्षमा राहदानीको सिफारिसबाट सबैभन्दा बढी राजस्व मंसिर महिनामा संकलन भएको तथ्यांकमा देखिन्छ । उक्त महिनामा ६० लाख १७ हजार ५०० रुपैयाँ राजस्व उठेको कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । मंसिरमा सबैभन्दा बढी १ हजार ११२ वटा राहदानीका लागि सिफारिस गरिएकोले राजस्व आम्दानी उच्च भएको देखिन्छ ।

    गत आवको पहिलो महिना साउनमा १ हजार १०५ वटा सिफारिस जारी हुँदा ५९ लाख ९९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको तथ्यांक छ । यसैगरी भदौमा ४८ लाख ९६ हजार, असोजमा ३६ लाख ८७ हजार ५००, कात्तिकमा ३७ लाख २५ हजार, पुसमा ४२ लाख ४५ हजार, माघमा ४२ लाख ४७ हजार ५००, फागुनमा ३५ लाख ७ हजार ५००, चैतमा २६ लाख ५७ हजार ७००, वैशाखमा ३३ लाख ६८ हजार, जेठमा ३९ लाख ६७ हजार ५०० र असारमा २८ लाख ५२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।